काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच आज भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहान ११ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुनेछ ।
उनीहरूबिच सरकारका कामकारबाही र विधेयकमा देखिएको असमझदारीबारे छलफल हुने बताइएको छ । स्रोतका अनुसार एमालेबाट बनेका रक्षामन्त्री मानवीर राई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी फेरिने सम्भावना छ।
कतिपयलाई मन्त्री बनाउने बेलै एक वर्षका लागि मात्र भनेर सम्झौता गरिएको तथा कतिको काम सन्तोषजनक नदेखिएकाले प्रधानमन्त्री ओलीले बिदा गर्न लागेका हुन्। भूमि मन्त्री अधिकारीको त घुस मागेको अडिओ नै सार्वजनिक भएको छ। हाल मन्त्रिपरिषद्मा एमालेबाट प्रधानमन्त्रीसहित ९ जना मन्त्री छन्।
आज हुने सत्ता साझेदार दुई दलको बैठकमा प्रधानमन्त्री ओलीसहित उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल तथा कांग्रेसबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी हुने बताइएको छ। त्यसो त दुई शीर्ष नेताबिच मन्त्री हेरफेरबारे पनि छलफल हुन सक्ने बताइएको छ । प्रधानमन्त्री ओली तत्काल मन्त्रीमण्डल हेरफेर गर्ने पक्षमा छन् । तर देउवाले सहमति नजनाउँदा मन्त्रीमण्डल हेरफेर हुन सकेको छैन ।