हेटौडा । बागमती प्रदेशसभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। आज भएको मतदानपछिको गणनामा मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामालाई पराजित गर्दै बानियाँ निर्वाचित भएका हुन्। बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ सदस्य छन्। शतप्रतिशत मतदान भएको निर्वाचनमा बानियाँले २२ सांसदको मत पाउँदा लामाले १४ सांसदको मत पाए। १ मत भने बदर भएको छ।
यसअघि मंगलबार भएको अविश्वासको प्रस्तावमाथिको मत विभाजनमा लामाले १५ सांसदको मात्रै साथ पाएका थिए। अविश्वासको प्रस्तावको पक्षमा बानियाँका पक्षका २२ सांसदले मत दिएका थिए। यसरी बहुमतको आधारमा अविश्वासको प्रस्ताव पारित भएको थियो। बानियाँ र लामा संसदीय दलको नेतामा दोस्रो पटक भिडेका हुन् । प्रदेशसभाको दोस्रो कार्यकालमा पहिलो पटक १३ पुस २०७९ मा संसदीय दलको निर्वाचन हारेका बानियाँले साढे २ वर्षमै नतिजा उल्ट्याए ।
लामा र बानियाँ दोस्रो पटक दलको नेताका लागि निर्वाचन लडेका हुन् । ४ मंसिर २०७९ मा भएको प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेस संसदीय दलको नेताका लागि १३ पुस २०७९ मा भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित भएका थिए । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।