मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि निर्वाचन प्रक्रिया जारी छ । बुधबार बिहानदेखि सुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । निर्वाचन कार्यक्रम अन्तर्गत बिहान १० बजेदेखि ११ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको थियो । संसदीय दलको नेताका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया र मुख्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बहादुर सिंह लामाबिच संसदीय दलको नेताका लागि प्रतिस्पर्धा हुँदैछ ।
लामा र बानियाबिचको प्रतिस्पर्धा नयाँ होइन । दुवै नेताले यसअघि पनि आपसमा संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिसकेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निकटका दुवै जना आपसमा दोस्रो पटक दलको नेता बन्ने होडसहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।यसअघि गत २०७९ पुस १३ गते भएको संसदीय दलको निर्वाचनमा दुवै नेताले प्रतिस्पर्धा गरेका थिए । त्यतिवेला कांग्रेसभित्रको गुट स्पष्ट नदेखिए पनि शीर्ष नेताको समर्थन भने केन्द्रीय सदस्यसमेत रहेका लामालाई थियो । पछिल्लो समय लामाको कार्यशैलीप्रति प्रश्न उठाउँदै आएका शीर्ष नेताहरू बानियाँ पक्षमा खुलेर देखिएका छन् ।
२०७९ को संसदीय दलको निर्वाचनमा लामालाई सभापति देउवासहित आरजु देउवा राणा, सहममन्त्री महालक्ष्मी उपाध्याय डिना, प्रवक्ता प्रकाशशरण महत, नेता शेखर कोइराला, प्रकाशमान सिंह लगायतको समर्थन थियो । तत्कालीन समयमा महामन्त्री गगनकुमार थापाको समर्थन पाएका बानियाँले १६ मत प्राप्त गरेका थिए भने अन्य शीर्ष नेताको साथ पाएका लामाले २१ मतका साथ संसदीय दलको नेताको चुनाव जितेका थिए । हाल संसदीय दलको नेतामा पुरानै नेताहरूको प्रतिस्पर्धा देखिए पनि समीकरण नयाँ देखिएको छ । लामा पक्षमा रहेका शीर्ष नेताहरू हाल बानियाँ पक्षमा खुलेका छन् । त्यसैले अविश्वास प्रस्तावको पक्षमा आएको मत बराबर नै बानियाले संसदीय दलको नेतामा प्राप्त गर्ने आकलन गरिएको छ ।
सरकारको कार्यशैली, बजेट विनियोजनमाथिको विवादले कांग्रेसको छविमाथि नै प्रश्न चिह्न खडा गरेको भन्दै मुख्यमन्त्री लामामाथि गत शुक्रबार नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता भएको थियो । २१ जना सांसदको हस्ताक्षरसहित दर्ता भएको अविश्वास प्रस्तावमा २२ सांसदले समर्थन गर्दै पारित गरेका थिए ।