काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को संसदीय दलको बैठक रुपन्देहीमा बस्ने भएको छ । पार्टीका सबै संसदहरु रुपन्देही तर्फ लागेका छन् । पार्टी सभापति रवि लामिछाने थुनिएकै जिल्लामा पार्टीको संसदीय दलको बैठक बस्न लागेको हो । रुपन्देही ३ मा आउँदो कात्तिक २७ गते उपनिर्वाचन हुँदैछ ।
सोही उपनिर्वाचनको लागि माहोल बनाउने र सभापति लामिछानेसँग प्रत्यक्ष भेटघाट पनि गर्ने उद्देश्यले रुपन्देहीमा बैठक आयोजना गरिएको पार्टी स्रोतले बतायो । रास्वपाले रुपन्देही ३ मा उम्मेदवार चयन प्रक्रिया सुरु गरिसकेको छ । पार्टीको विधान अनुसार उम्मेदवारीका लागि गत ५ साउनमा दरखास्त आह्वान गरिएको थियो । दरखास्त हाल्ने म्याद २१ साउनसम्म रहेको छ ।
सकेसम्म सम्वन्धित निर्वाचन क्षेत्रकै उम्मेदवार खडा गर्ने रास्वपाको रणनीति रहेको छ । रुपन्देहीमा रास्वपा सांसदहरुले दुई–तीन दिन बिताउने छन् । रुपन्देही ३ का मतदाताहरुसँग भेटेर चुनावी अभियानको अनौपचारिक थालनीसमेत गरिनेछ । यस्तै, भैरहवाको कारागारमा रहेका सभापति रवि लामिछानेलाई सांसदहरुले भेट्नेछन् ।