काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा तामाङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएको छ । तामाङविरुद्ध अविश्वासको प्रस्ताव पारित भएसँगै ईन्द्र बानियाँ मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ । आज बसेको संसदीय दलका बैठकमा संसदीय दलका नेता तामाङमाथि ल्याइएको अविश्वासको प्रस्तावमाथि छलफल भएको थियो । बैठकमा कांग्रेसको केन्द्रबाट पठाइएका प्रतिनिधि राजन केसी पनि उपस्थित भएका थिए ।
बैठकको सुरुमा नै केन्द्रीय प्रतिनिधि पठाइएको सम्बन्धमा पठाइएको पत्र पढेर सुनाइएको थियो । त्यसपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामा तामाङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पढेर सुनाइएको थियो ।
बैठकमा छलफल भएर आज नै प्रस्तावको पक्ष र विपक्षमा मतविभाजन एवं सनाखत भएको हो । सनाखत हुँदा ईन्द्र बानियाँ पक्षधर २२ र मुख्यमन्त्री तामाङको पक्षमा १५ मत परेको हो । बहुमत सांसदहरुले सनाखत गरेपछि तामाङ विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव पारित भएको छ । कांग्रेसको विधानअनुसार मुख्यमन्त्री हुनका लागि संसदीय दलको नेता हुन आवश्यक छ । संसदीय दलको नेतामा बानियाँलाई बहुमत सांसदहरुले समर्थन गरेसँगै अब उनी मुख्यमन्त्री हुने निश्चित भएको छ ।