काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशसभाको विवाद मिलाउन आज संसदीय दलको बैठक बस्दैछ। विवाद समाधानका लागि बागमती प्रदेशसभा संसदीय दलको बैठक आज बिहान १० बजेका लागि बोलाइएको पार्टीबाट सहजीकरणको जिम्मा पाउनु भएका केन्द्रीय सदस्य राजन केसीले जानकारी दिए। उनका अनुसार संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामाले मार्गप्रसस्त गर्नेगरी सहमतिको प्रयास अन्तिम चरणमा रहेको र प्रकृयागत विषय मात्र टुंगिन बाँकी छ।
यसबारे आजको संसदीय दलको बैठकले छिनोफानो गर्नेछ। लामाले राजीनामा नदिए आजै मतविभाजन गरी नयाँ नेता चयन गर्ने प्रकृया सुरु हुनेछ। शुक्रबार कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अगुवाइमा लामाविरुद्ध २१ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। संसदीय दलका ३७ मध्ये २१ सांसदले बानियाँको पक्षमा हस्ताक्षर गरेपछि अल्पमतमा परेका लामा नैतिक संकटमा परेका छन्। संसदीय दलमा बहुमतका लागि १९ सांसद चाहिन्छ।
बानियाँले एक वर्षपछि आफूले सरकारको नेतृत्व गर्ने पूर्वसहमति भएको दाबी गर्दै आएका छन्। बानियाँ र लामा दुबै सभापति शेरबहादुर देउवा पक्षकै भए पनि बजेट निर्माणदेखि कार्यसम्पादन र केही नियुक्तिमा देउवा लामासँग असन्तुष्ट रहेपछि बुढानीलकण्ठकै ‘ग्रिन सिग्नल’मा नेता परिवर्तनको खेल सुरु भएको हो।
दलको नेतृत्व सहमतिमै हस्तान्तरण गरी गठबन्धन व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेमा अधिकांश नेताहरु सचेत देखिएका छन्। सत्ता साझेदार एमालेले पनि चाँडो विवाद टुंग्याउन र प्रदेशलाई अस्थीरतामा नधकेल्न सचेत गराइरहेको छ।