काठमाण्डौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तराईका जिल्लामा देखिएको समस्या समाधानका लागि तीनै तहका सरकार जुट्न आवश्यक रहेको बताएका छन्। पर्याप्त पानी नपरेपछि रोपाइँ हुन नसक्दा तराईमा ठुलो समस्या निम्तिने देखिएपछि उनले तीन तहका सरकारबिच समन्वयको खाँचो औंल्याएका हुन्।
मुख्यमन्त्री सिंहले आकाशबाट पानी पर्न छाडेको अवस्थामा जमिन रिचार्ज नभएकाले पानीको स्रोत सुकेको लगायत कारण वैकल्पिक उपाय अपनाउनुपर्ने आवश्यकता उनले औंल्याए । विगतमा फाट्टफुट्ट यो समस्या देखिए पनि यो वर्ष गम्भीर रूपमा अगाडि आउनु चिन्ताको विषय बनेको उनको भनाइ छ। मधेस सरकारले सुक्खा क्षेत्र र संघीय सरकारले तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेपछि काठमाडौं आएका मुख्यमन्त्री सिंहले पाँच सय डिप बोरिङ जडानपछि तत्कालका लागि समस्या समाधान भए पनि दीर्घकालीन भने नहुने तर्क गरे।
धान रोपाइँ हुन नसके किसानलाई वैकल्पिक खेतीका लागि प्रेरित गर्ने बताउँदै मुख्यमन्त्री सिंहले यसका लागि केन्द्र सरकारसँग प्याकेजमा सहमतिको प्रयास भइरहेको जानकारी दिए। एक साताभित्र पानी नपरे अहिले रोपिएको धानसमेत कामै नलाग्ने अवस्थामा पुग्ने बताउँदै उनले मधेसका किसानलाई वर्ष दिनसम्म के खान दिने भन्ने चिन्ता थपिएको उल्लेख गरे। चुरे क्षेत्रबाट बग्ने खहरे खोला तथा हिमाली र पहाडी क्षेत्रबाट आउने नदीमा चेक ड्याम बनाउन सके सिँचाइको समस्या केही हदसम्म भए पनि समाधान हुने उनको भनाइ थियो।
बारा, पर्सासहितका केही जिल्लामा पिउने पानीको समेत चरम अभाव सुरु भएको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले आगामी १५ दिनभित्र यो समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। वीरगन्जसहितका केही स्थानमा अहिले पनि नेपाली सेनासहित केही संघसंस्थाले पानी वितरणको काम गरे पनि यसले दीर्घकालीन समाधान भने नहुने उनको भनाइ थियो। विगतमा एक सय ५० फिटसम्म बोरिङ गर्दा पानी आउने गरे पनि अहिले करिब तीन सय फिटसम्म गाड्नुपर्ने अवस्था सिर्जना भएको मुख्यमन्त्री सिंहको भनाइ थियो।