सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पानजिक भण्डास विप्पर कटेरीमा रहेका उर्मिला हायूसहितको १६ जनाको परिवार ४ दिनदेखि सम्पर्कविहीन छन् । एकलासमा रहेको घरमा सोमबार प्रहरीसहितको टोली पुग्दा कोही मानिस भेटिएका छैनन् । स्थानीय मोतिराज सापकोटाका अनुसार ४ दिनअघि बिहीबार सुँगुर काटेर भोज गरेपछि सम्पर्कविहीन भएका हुन् ।
१५ मिनेटको दूरीमा रहेका छिमेकीहरूले पनि शुक्रबारदेखि नदेखेको बताएका सापकोटाले जनाए । इलाका प्रहरी कार्यालय खुर्कोटको टोली, वडाध्यक्ष रविन श्रेष्ठसहित घरमै पुगेर खोजतलास गर्दा कोही नभेटिएको जनाएका छन् । वडाध्यक्ष श्रेष्ठका अनुसार भान्साघर जलेको अवस्थामा छ । साथै भाँडाहरू अस्तव्यस्त भेटिएको छ । खोरमा पाँचवटा बाख्रा समेत भोकै अवस्थामा रहेका र कुकुर रोइरहेको अवस्थामा भेटिएको छ । अल्पसंख्यक लोपोन्मुख हायू जाति भएकाले सामाजिक सुरक्षा भत्ता लिँदा वडा तथा पालिकामा फोन नम्बर हुने भएकाले सम्पर्कको प्रयास गरिराखिएको अध्यक्ष श्रेष्ठले बताए । ‘कहाँ गए, कता गए अत्तोपत्तो छैन,’ श्रेष्ठले भने, ‘सम्पर्क गर्ने प्रयास जारी छ ।’
सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले सम्पर्कविहीन भएका हायू परिवारको खोजतलास भइरहेको जनाए । ‘फोनको लोकेसन रामेछाप मन्थली देखिएको भन्ने आएको छ,’ उनले भने, ‘कतै घुम्न गएका हुन् कि भन्ने अनुमान छ । तर स्थलगत रूपमा कोही भेटिएका छैनन् ।’ अनकन्टारमा घर रहेकाले छिमेकीहरूको समेत आवतजावत कम हुने गरेको पाइएको छ । हायू जातिलाई सरकारले लोपोन्मुख आदिवासी समुदायमा सूचीकृत गरेको छ । २०७८ को जनगणनाअनुसार हायू जातिको जनसंख्या ३ हजार ६९ रहेको छ ।