जनकपुरधाम । देशको अन्न भण्डारका रूपमा रहेको मधेश प्रदेशले यस वर्ष सुख्खा र खडेरीको सामना गर्नु परेको छ । मधेश प्रदेशमा यस वर्ष मनसुन अनुकूल नहुँदा धान रोपाइँमा गम्भीर प्रभावित परेको छ । मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेश प्रदेशमा जम्मा ४७ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ ।
अहिले मधेश प्रदेशमा धान रोपाइँका लागि मात्र नभएर पिउनको पानीको समेत अभाव रहेको छ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका, मनराशिसवा नगरपालिका लगायतका क्षेत्रमा पिउने पानीको अभाव समाधान गर्ने दीर्घकालीन योजना नभए पनि अहिले ट्याङकरको साहेताले टोल टोलमा पानी वितरण गरिरहेको छ ।
महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जमिन रहेकोमा ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ । सो क्षेत्रमा पानी नपर्दा किसानको धानका ब्याड सुक्न थालेको छ भने फाटफुट रुपमा किसानले रोपेको खेतमा धाँजा फाट्न थालेको छ । मधेश प्रदेश सरकारको सिफारिसमा सङ्घीय मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।
सरकारले तीन महिना अवधिका लागि मधेश प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । महोत्तरजिल्लाका मटिहानी नगरपालिकाका ७ र ८ नम्बर वडा क्षेत्रका खेतहरू अधिकांश सुख्खा छन् भने पम्पसेटको साहेताले रोपाइँ गरिएका खेतहरुमा धाँजा फाटेका छन् । स्थानीय गुफर लेहेरीले यस वर्ष मनसुन सुरु भए पनि यो क्षेत्रमा पानी नै नपरेको सुनाउनुभयो । धान रोप्नका लागि आकाशको भर पर्नु पर्ने हामीले पम्पसेट पनि नपाएको र स्थानीय सरकारले वास्ता नगरेको उहाँको गुनासो छ ।
त्यस्तै अर्का स्थानीय सन्तोष यादवको खेत पनि यस वर्ष खडेरी र सुख्खा कारण बाँझै छन् । पैसा हुनेहरूले पम्पसेटको प्रयोगले धान रोपाइँ गरेपनि हामीहरू आकाशको पानीमै भर पर्नुपरेको उहाँले सुनाउनुभयो ।