बारा । प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले आज यहाँ आयोजित एक कार्यक्रमबीच भवनको उद्घाटन गर्दै गाउँपालिकाको प्रशासकीय भवन बनेसँगै यहाँका सेवाग्राहीले सहज र सरल ढङ्गले कार्यालयको सेवा प्राप्त गर्न सक्ने बताए।
‘आधुनिक भवनबाट विगतको भन्दा राम्रो सेवा प्रवाह गरेर जनताको मन जित्ने काम गर्न अनुरोध गर्छु,’ उनले भने, ‘यो भवन निर्माण हुनु पक्कै खुसीको विषय हो। यो भवनले पक्कै ५० देखि एक सय वर्षसम्म सेवा प्रवाह गर्नेछ भन्ने विश्वास लिएको छु।’
प्रधानमन्त्री ओलीले भवनको निर्माणको सुरु देखि सम्पन्न हुने चरणसम्म खटिने पालिकाका जनप्रतिनिधि, कर्मचारी र इञ्जिनियरहरूको खुलेर प्रशंसा गरे। उनले मुलुकभर विभिन्न सरकारी कार्यालयको भवन निर्माण द्रुत गतिमा अघि बढिरहेको जानकारी दिए।
परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले भवन निर्माण भएसँगै जनताले पाउने सेवामा थप सरल र सहज हुने बताए। ‘विगतमा भाडाको भवनमा कार्यालय सञ्चालन हुँदै आएको थियो,’ उनले भने, ‘कार्यालयको आफ्नै भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राहीले सहज ढङ्गले सेवा प्राप्त गर्न सक्नेछ।’ भवन विसं २०७७ मा निर्माण सुरु गरिएको थियो।
परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्नासाह रौनियारले पालिकाले आन्तरिक स्रोतबाट रु तीन करोड २५ लाख ५१ हजार खर्चेर भवन सम्पन्न गरेको बताए। रासस