काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी सदस्यताले लिएको ४५ वर्ष भइसकेको उल्लेख गर्दै सदस्यता नवीकरणबाट रोक लगाउन नमिल्ने बताएकी छिन् । भण्डारीले आफू पार्टी त्यागेर राष्ट्रपति नबनेको भन्दै पुनस् पार्टीकै जिम्मेवारी लिएर सदस्यता नवीकरण गरेको स्पष्टीकरण दिएकी छिन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरणमा रोक लगाउँदै सक्रिय राजनीतिमा आउन नमिल्ने निर्णय गरेको थियो । त्यसपछि पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको ४५ वर्ष भइसकेको छ । यति हुँदाहुँदै मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन,’ भण्डारीले भनेकी छिन् । साथै, उनले आफूलाई रोक्नेगरी एमालेले गरेको निर्णय वैध र परिपक्व हुन नसक्ने बताएकी छिन् । यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ ।
आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यले अस्थायी रूपमा प्रभावित तुल्याउन सकिए पनि वास्तविकतालाई समेत छोप्न सकिँदैन,’ उनले भनिन्, ‘छलफल गरेर विवेकसंगत ढंगबाट निर्णय लिनुपर्छ भन्ने पार्टी र जवजको मर्म पनि यही हो । पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुन सक्दैन ।’
उनले यी सबै कुराहरू भावनामा बगेर नबोलेको पनि पत्रकार सम्मेलनको क्रममा बताइन् । यो पार्टी बनाउन म लगायत हजारौं योद्धा र सदस्यले रगत पसिना लगाएको छ । यो कुरा म कुनै भावनामा बगेर गरिरहेको छैन,’ उनले भनिन् ।