काठमाडौँ । नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेश प्रदेशलगायतका क्षेत्रमा यो वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ। प्रदेश सरकारको सिफारिसमा सङ्घको मन्त्रिपरिषद्ले मधेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।
यता सरोकारवालाले धान उत्पादनमा नै ह्रास आउन सक्ने भन्दै चिन्ता जनाएका छन्। मधेश प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेश प्रदेशमा जम्मा ४७ प्र्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृृषि विभागका अनुसार गत वर्ष यही समयमा मधेसमा करिब ८०.६ प्रतिशत रोेपाइँ सम्पन्न भइसकेको थियो। यो प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुन्छ। विभागका अनुसार साउन ४ गतेसम्म मुलुकभर ७२.१४ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष यो अवधिमा ८४.६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो।
मधेस प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा.सरोज चौधरीले वर्षा हुन नसक्दा धानको बिउ डढ्न थालेको, भइसकेको रोपाइँसमेत सिँचाइ नपाएर सुक्न थालेको बताए। ‘अहिले मधेशका फाँट हेर्दा सुक्खा देखिन्छन्, वर्षा नहुँदा आधा प्रतिशत पनि रोपाइँ सकिएको छैन’, उनले भने, ‘सुक्खाको समस्या कसरी सम्बोधन गर्न सकिन्छ भनेर प्रयास गरिरहेका छौँ।’
राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा मथुरा यादवले साउनको २०-२२ गतेसम्म पनि राम्रो वर्षा हुन नसकेको खण्डमा उत्पादनमा १५ देखि २० प्रतिशत ह्रास आउने बताए। ‘उत्पादन बढाउन समयमा नै रोपाइँ सम्पन्न गर्नुपर्छ, रोपाइँ सम्पन्न भएपछि पनि समय समयमा धानले सिँचाइ पाउनुपर्छ’, उनले भने, ‘तर नेपालका अधिकांश स्थानमा आकाशकै पानीको भरमा सिञ्चित गर्नुपर्ने अवस्था छ, आवश्यक परेका बेला वर्षा भएको छैन। मधेसको अवस्था हेर्दा अब नै धान उत्पादन घट्ने देखिन्छ, अझै वर्षा भएन भने उत्पादनमा बढी ह्रास आउन सक्छ।’
बालीविद् डा डिल्लीराम शर्माले पनि मधेश क्षेत्र धान उत्पादनको हब नै रहेको भन्दै मधेशमा सुक्खाका कारण धानको उत्पादनमा असर पर्ने सम्भावना रहेको बताए। ‘धानको बीउ सुकिसकेको छ। रोप्न नपाएपछि अनि बीउ छिप्पिँदै जान्छ र छिप्पिएको बीउ रोप्दा पनि उत्पादनमा कमी आउँछ। रोपेर मात्र पनि भएन सिँचाइको राम्रो सुविधा आवश्यक पर्छ’, उनले भने ‘भविष्यमा पनि यस्तै समस्या आउन सक्छ। तसर्थ सुक्खा क्षेत्रमा लगाउन सकिने बालीबारे अनुसन्धान गर्नुपर्छ र अब वैकल्पिक बालीबारे सोच्नुपर्छ।’
जल तथा मौसम विज्ञान विभागअन्तर्गत हावापानी विज्ञान महाशाखा (हावापानी विश्लेषण शाखा) को तथ्याङ्क अनुसार मनसुन अवधिमा मुलुकभर एक हजार ४०० मिलीमिटर सरदर वर्षा हुने गरेकामा हालसम्म करिब ५०० मिलीमिटर अर्थात् मनसुन अवधिमा हुने वर्षाको ३४.४ प्रतिशत वर्षा भएको छ।
विभागले उपलब्ध गराएको जनकपुर, सिमरा, विराटनगर, पोखारालगायतका वर्षा मापन केन्द्रको तथ्याङ्क हेर्दा यी मापन केन्द्रमा औसतभन्दा कम वर्षा भएको छ। ‘जनकपुरमा मनसुन सुरू भएयता २० प्रतिशत वर्षा भएको छ। जनकपुरमा मनसुन अवधिमा औसत एक हजार १०० मिलीमिटर वर्षा हुन्छ’, शाखाले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ।
जलस्रोत तथा सिँचाइ विभागको तथ्याङ्क अनुसार करिब २५ लाख ३० हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये हालसम्म करिब १५ लाख हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउनेगरी सिँचाइको संरचना निर्माण गरिएको छ। तर करिब एक तिहाइ भूमिमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुनसकेको तथ्याङ्कमा उल्लेख छ।
आकाशे पानीकै भरमा मधेशमा ५१ प्रतिशत रोपाइँ
मधेश प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा चौधरीले मधेस प्रदेशको कुल खेतीयोग्य जमिनको ४९ प्रतिशत जग्गामा मात्र सिँचाइ सुविधा रहेको जानकारी दिए। उनका अनुसार सिँचाइको मुख्य स्रोत नदी, तलाउ, बाँध, नहर, स्यालो ट्युबवेल र डिप बोरिङ रहेको छ।
‘तर अहिले भएका कतिपय नहरबाट पनि पानी पाउँदैन। अन्नको मुख्य भण्डार रहेको मधेश प्रदेशमा सिँचाइ आयोजनालाई प्रथामिकता नदिए आगामी दिनमा यस्तै समस्या भोग्नुपर्छ”, उनले भने, ‘अधिकांश किसान आकाशबाट पानी कहिले पर्ला अनि रोपाइँ गरौँला भनेर बस्नुपर्ने बाध्यता छ।’
कृषि तथा पशुपन्छी डायरी, २०८१ अनुसार हाल कृषि क्षेत्रले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको २४।१ प्रतिशत योगदान पुर्याउनुको साथै ५०.४ प्रतिशत जनसङ्ख्यालाई रोजगारी प्रदान गर्दै आएको छ। मधेश प्रदेशमा नेपालमा खेती गरिने कुल जग्गाको १६.२५ प्रतिशत जग्गामा खेती हुने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्ल्लेख छ।
यस प्रदेशमा जम्मा पाँच लाख ४२ हजार ५८० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिने छ भने जम्मा पाँच लाख दुई हजार २२४ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ। जसमध्ये कुल तीन लाख ६२ हजार ३४४ हेक्टर जग्गामा बर्खे धानको खेती र २० हजार ८३९ हेक्टर जग्गामा चैते धानको खेती हुने गरेको छ।
बर्खे धानको उत्पादन एक लाख २७० मेट्रिक टन छभने उत्पादकत्व ४.८१ मेट्रिक टन प्रतिहेक्टर रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। तथ्याङ्कानुसार यो प्रदेशमा चैते धानको उत्पादन १२ लाख ३७ हजार ४०१.९ मेट्रिक टन र उत्पादकत्व ३.४१ मेट्रिक टन प्रतिहेक्टर छ। मधेस प्रदेश दोस्रो आवधिक योजना, २०८१/८२-२०८५/८६ अनुसार आव २०७९/८० मा मधेश प्रदशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३५.०२ प्रतिशत छ।