काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरुले तराई मधेसमा लामो समयदेखि बर्सात नहुँदा सुक्खा र खडेरी भई जनता पीडित भएको जनाउँदै तत्काल खानेपानी र सिँचाइको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनीहरुले तराई मधेसमा खानेपानी र सिँचाइको उचित व्यवस्थाका लागि तत्कालीन र दीर्घकालीन रुपमा काम गर्नुपर्ने सुझाव दिए ।
बैठकमा सांसद अब्दुल खाँनले संयुक्त राज्य अमेरिकाको लुसियाना राज्यमा १३ जुलाई २०२५ मा बर्सातका कारण निधन भएका नेपाली विद्यार्थीहरु राजन यादव र रोजिन ओलीको शव हालसम्म पनि स्वेदश ल्याउन नसकिएको अवगत गराउँदै तत्काल शव नेपाल ल्याउनका लागि पहल गर्नका लागि सरकरको ध्यानाकर्षण गराए । साथै उनले तराई मधेसमा लामो समय वर्षात नभएका कारण सुख्खा खडेरी भएकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गरी खानेपानी र सिँचाइको प्रबन्ध गर्न सङ्घीय सरकारसँग माग गरे।
सांसद देवेन्द्र पौडेलले बागलुङ र पर्वतमा केही दिनअघि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले जनधनको क्षतिप्रति जानकारी गराउँदै तत्काल उद्धार, राहत र पुनःस्थापनाको माग गरे । सांसद चित्रबहादुर केसीले बागलुङमा गत असार २५ गते आएको बाढीले ठूलो भौतिक क्षति भएको जानकारी गराउँदै पीडित जनताका आवाज सम्बोधनका लागि युद्धस्तरमा काम गर्न माग गरे ।
सांसद वासुदेव घिमिरेले देशैभरि ठूलो वर्षा हुने अनुमान गरे पनि देशभरि सुक्खा खडेरी भएको बताउँदै पूर्वानुमान झुटो सावित भएको बताउँदै यसले नागरिकमा सरकारप्रति विश्वास नहुने बताए । उनले आगामी दिनमा सही सूचनाको आधारमा मात्र मौसम पूर्वानुमान गर्न जल तथा मौसम विज्ञान विभागलाई आग्रह गरे ।
सांसद छिरिङ ल्यामु लामा ‘तामाङ’ले तराई मधेसमा वर्षा नहुँदा सुक्खा क्षेत्र भएपछि खानेपानीको हाहाकार भएको बताउँदै दीर्घकालिन समाधानका लागि सरकार लाग्नुपर्नेमा जोड दिए । सांसद चन्द्रबहादुर विश्वकर्माले रुकुम पश्चिममा टिपर खस्दा तीन जना बेपत्ता भएको अवगत गराउँदै खोजी कार्यलाई तीव्र रुपमा अघि बढाउन र बेपत्ता भएकाको खोजीको माग गरे ।
सांसद देवप्रसाद तिमलसेनाले तराई मधेसमा पानीको हाहाकार भएपछि सरकारले सुक्खा क्षेत्र घोषणा गरेको बताउँदै तत्काल खानेपानी र सिँचाइको व्यवस्था गर्न माग गरे । साथै उनले रौतहटमा हात्तिको आक्रमणबाट स्थानीय पीडित भएको बताउँदै समाधानका लागि वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराए ।
सांसद माधव सापकोटाले सदनमा मन्त्रीहरुका अनियमितताका घट्ना पुष्टि भएपछि राजीनामा माग्दा पनि सुनुवाइ नभएको बताउँदै रसुवामा आएको बाढीपछि चीनमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउन पहल गरेकामा धन्यवाद दिए । साथै उनले केरुङमा चीन सिमानामा अलपत्र परेका नेपालका मालवाहक गाडी यसै सिजनमा नेपाल ल्याउन पहल गर्नका लागि सरकारको ध्यानाकर्षण गराए ।
सांसद दामोदर पौडेल वैरागीले यही साउन ३ गतेको कास्कीमा बाढीबाट भएको क्षतिको जानकारी गराउँदै स्थानीयस्तरमा उद्धार र राहतका सामग्री बढाउन माग गरे । सांसद सूर्यबहादुर थापा क्षेत्रीले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक महासचिव पुष्पलालले नेपाली लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको चर्चा गरे । रासस