काठमाडौँ । सभामुख देवराज घिमिरेले कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसहित भिजिट भिसा प्रकरणमा संसद् अवरोध गर्दै आएका रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका छन् । सभामुख घिमिरेले मंगलबार दिउँसो कानुनमन्त्री अजयकुमार चौरसिया, रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गरेका उनको सचिवालयले जनाएको छ । छलफलका क्रममा सभामुख घिमिरेले संसद् अवरोध हटाउन विपक्षी दलहरुलाई आग्रह गरेका थिए ।
सरकारले आगामी आर्थिक वर्षमा १२१ वटा विधेयक दिने भनेको छ । तर हाउस निरन्तर अवरोध हुँदा ती विधेयकको अवस्था के हुन्छन्, यसतर्फ सबैले सोच्न जरुरी छ । संसद् चलाउने वातावरण बनाउन म सरकार र विपक्षी दलहरूलाई आग्रह गर्दछु, सभामुखको सचिवालयले जारी गरेको प्रेस नोटमा छ । सभामुख घिमिरेले बाध्यात्मक स्थितिमा आफूले सदन चलाइरहनु परेको समेत स्मरण गराएका थिए । ुभिसा प्रकरणलाई लिएर दुवै दल निरन्तर संसदीय कारबाहीमा सहभागी हुनुभएको छैन ।
सरकार र तपाईंहरूबीच संवाद हुन नसक्दा त्यसको असर संसद्मा परेको छ । सभामुखका रुपमा मैले अप्ठ्यारो महसुस गरिरहेको छु । मेरो ठाउँमा अरु कोही सभामुख भए पनि संसद चलाउनुपर्ने बाध्यतात्मक स्थिति छ,सभामुखको भनाइ थियो, तपाईंहरूको सैद्धान्तिक, राजनीतिक र मुद्दाहरूप्रति मेरो भन्नु केही छैन । तर, संसदीय गतिविधि प्रभावित भएको छ । कानुनमन्त्री चौरसियाले पनि सरकारले विपक्षी दलहरुलाई कमजोर नठाउने भन्दै लचिलो भइदिन रास्वपा, राप्रपा नेताहरुलाई आग्रह गरे ।
सरकारले छानबिन समिति बनाएर काम सुरू गरेको छ, त्यो पनि प्रमुख विपक्षी दलको सहमतिमा नै । सरकारले विपक्षीलाई नजरअन्दाज गरेर जाने पक्षमा छैन । रास्वपा र राप्रपासँग पनि सरकारले छलफल गरिनै रहेको छ, उनले भनेका थिए, एउटा सहमतिको बिन्दुमा पुग्न तपाईंहरू पनि लचिलो हुनुहोस्, सरकारले आवश्यक गृहकार्य गर्छ ।
रास्वपा कार्यवाहक सभापति अर्यालले सभामुख घिमिरेले पहल गरे पनि सरकारले गैरजिम्मेवारीपन देखाएको बताएका थिए । सभामुखले सहमतिका लागि निरन्तर पहल गर्नुभएको छ । धेरै बैठक सहमतिका लागि नै स्थगित पनि गर्नुभयो, प्रेस नोटमा छ,तर, हामीले उठाएका मुद्दा धेरै गम्भीर छन् । यति गम्भीर मुद्दा सम्बोधन गर्न सरकारले उल्टै तदारुकता देखाउनुपर्नेमा गैरजिम्मेवारी देखाएको छ ।