काठमाण्डौं । नेकपा ( एमाले) को जारी नवौं बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ । आजको बैठकमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने १९ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय सदस्यहरु किशोर अधिकारी, जीवन घिमिरे, राजेन्द्र राई,आशारत्न जवेगु, दिपक कार्की, रामलाल साह, युवराज बाँस्कोटाले आफ्ना भनाइहरु राखेका छन् । यसैगरी इन्द्र भण्डारी, नैनकला ओझा, यज्ञराज सुनुवार, तुलसी नेउपाने, भगवती चौधरी, मञ्जु भण्डारी, राम राना, टंकराखेका छन् ।
बैठकमा केन्द्रीय सदसय युवराज बाँस्कोटाले भूगोलको जिम्मेवारी लिएका कतिपय केन्द्रीय सदस्य लामो समय काठमाडौंमा बिताउने गरेको स्थानीय तहमा जनसम्पर्क कमजोर भएको बताए । उनले पार्टीले पठाएका जनप्रतिनिधि निजामतिका हाकिम जस्तो चरित्र बोक्न थालेकोले तिनीहरुको आचरण सुधारमा पार्टीले ठोस नीति लिन माग गरे । बाँस्कोटाले एमालेलाई राष्ट्रिय शक्ति बनाउने उद्घोष गरे पनि एकले अर्कोलाई निषेधको संस्कार पार्टीमा मौलाउदै गएकोले मिसन ०८४ मा समस्या ल्याउने तर्फ नेतृत्वले बेलैमा सचेत हुनुपर्ने उल्लेख गरे । अर्का केन्द्रीय सदस्य जीवन घिमिरेले राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतितिर फर्कनु गल्ती हुने बताए ।
केन्द्रीय सदस्य मञ्जु भण्डारीले हिजोका दिनमा अध्यक्ष र पूर्वराष्ट्रपति एक अर्काको सहयोगी भएरै राजनीति सफल पार्नु भएकोले आज पनि आपसी समझदारीमै विवादलाई टुंग्याउनु पर्ने धारणा राखेकी थिइन् । अहिले बागमती प्रदेशका केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी छ । हिजो सुरु भएको केन्द्रीय कमिटी बैठकमा मधेस, गण्डकी र सम्पर्क समन्वयका केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् ।
बैठकमा मुख्यत पार्टी सचिवालय र पोलिटव्यूरोले पारित गरेको विधानका विषयमा छलफल भइरहेको छ । केन्द्रीय कमिटीले दिएका सुझावका आधारमा विधान संसोधन गरेर मातहतका कमिटीमा थप सुझावका लागि पठाउने तयारी छ ।