काठमाडौं । नेकपा ९एमाले० को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा आईसकेकोले अब पछि नफर्कने बताएकी छिन् । आफ्नो निवासमा पत्रकारहरसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएकी हुन् । आफू राष्ट्रपतिको भूमिकामा पनि पार्टीले पठाएर गएको स्मरण गराईन् । ०७० सालमा नै आफूलाई पार्टीले सभामुखको पनि अफर गरेको भण्डारीले खुलासा गरिन् ।
राष्ट्रपतिको अफर आउँदा सुरुमा निर्णय लिन समय लिएको भण्डारीको भनाई छ । उनले भनिन्,‘‘राष्ट्रपति बन्नुपर्छ भनेर प्रस्ताव आउँदा मलाई रातभर निन्द्रा लागेन, राष्ट्रपतिमा जाने कि नजाने भनेर। छोरीहरूले पनि राष्ट्रपतिमा गएर बुवाको सपना कसरी पूरा हुन्छ भनेर मलाई सोधे, म राष्ट्रपति हुँदा मेरो घरमा खुसी थिएन ।’
तर, राष्ट्रपतिको भूमिका निर्वाह गर्दा र लिएका निर्णयप्रति कुनै पछुतो नभएको उनको भनाई छ । संसद् विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय सदर गरेको कुरामा पनि कुनै गल्ती गरेको भन्ने आफूलाई अहिलेपनि नलागेको भण्डारीको भनाई छ । भण्डारी एमालेको राजनीतिमा फर्किएको विषयमा एमालेभित्र भने बहस र विवादको विषय बनेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन नहुने सुझाव दिएको बताईन्छ । सचिवालय, पोलिटब्यूरो हुँदै केन्द्रीय कमिटी बैठकसम्म पुग्दा ओली पक्षधर नेताहरुले भण्डारीको राजनीतिमा फिर्तीको विषयलाई आलोचना गरेका छन् । उनीहरुले कुनैपनि हालतमा अध्यक्षमा ओलीको विकल्प नभएको मत राखेका छन् । भण्डारीले भने आफ्नो पक्षमा बोल्ने नेता तथा कार्यकर्ताहरुले ओली पक्षले आतंकित तुल्याएको संकेत गरेकी छिन् ।