काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई सही ढंगले नबुझ्नुको परिणाम नेपालको राजसंस्था नागार्जुनको जंगलको कुनामा थन्किन परेको बताएका छन् । आज ( मंगलबार ) बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपीले मेलमिलापको नीति लिएर फर्किँदा राजाको र मेरो घाँटी जोडिएको छ भन्ने कुरालाई दरबारले गलत ढंगले व्याख्या गरेको परिणाम नेपालको राजसंस्थाले भोगिरहेको बताएका हुन् ।
‘यदि बीपी कोइरालाले मेलमिलापको नीति लिएर आइसकेपछि राजसंस्थाको प्रतिनिधिको रुपमा राजा र लोकतन्त्रको प्रतिनिधिको रुपमा आफूलाई राखिराखेर राजा र मेरो गर्दन जोडिएको छ भनेको कुरालाई दरबारको अपव्याख्या नगरेको भए, दुईवटा गर्दन जोडिएका छन्, संगै सहयात्रा गर्नुपर्ने छ भन्ने कुरालाई दरबारले आत्मसात गरेको भए,’ उनले भने, ‘सँगै जोडिएको गर्दनमा एउटा गर्दनलाई प्रहार गरिरहँदा अर्को गर्दन कुनै दिन छिनालिनसक्छ भन्ने कुरालाई दरबारले बुझेको भए आज नागार्जुनको डाँडामा बसेर यो लोकतान्त्रिक व्यवस्थालाई हेरिरहनुपर्ने अवस्था नेपालको राजसंस्थालाई नआउन सक्थ्यो । बीपीलाई नबुझ्नुको परिणाममा एउटा जंगलको कुनामा गएर नेपालको राजसंस्था थन्कियो ।’
साथै,विपी कोइरालालाई सही मानेमा जति साँचो ढंगले बुझ्न सकियो, त्यति नै चाँडोे देशको उन्नतिलाई सहज बनाउन सकिने उनको भनाइ छ । विपी काइरालालाई चिन्ने, बुझ्ने सवालमा र आत्मसात गर्ने सवलाम नेपालका भिन्न–भिन्न शक्तिहरुबाट कमजोरी भएको पनि उनले बताए । कांग्रेसबाट पनि र नेपालका कम्युनिष्टबाट पनि विपीप्रतिको बुझाइ गलत भएको उनले बतटाए ।
साथै, उनले संघीय निजामति सेवा विधेयकको कुलिङ पिरियडको सन्दर्भमा तलमाथि नुहने उनले बताए । राष्ट्रिय सभामा एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनेगरी संशोधन राख्ने काम गलत रहेको उनले बताए । यसले दुई दलबीच दरार उत्पन्न गराउने उनको चेतावनी छ । ‘राज्य व्यवस्था समितिबाट पारित भएको कुलिङ पिरियडको जुन विषय थियो, त्यो विषयमा सम्माननीय सभामुखमार्फत छानविन समिति बनेको छ । जसको दोषको बाटो छ, उसलाई कारबाही गरिनुपर्छ । राज्य व्यवस्था समितिबाट हामीले अपिल गरेका छौं, राष्ट्रिय सभामार्फत यसलाई सच्याइनुपर्छ । हामी सँगै बस्दैगर्दा त्यो कुरामा सहमत पनि हुने, तर राष्ट्रिय सभामा फरक रुपमा संशोधन आइराखेर फेरि त्यसलाई दुर्घटनातिर लगियो भने स्वभाविक छ कि हाम्रो जुन समझदारी हो, त्यो समझदारीमा एक प्रकारको दरार उत्पन्न गर्छ,’– उनले भने ।
साथै, भूमि विधेयकको सन्दर्भमा अलि बढी नै हतारो गर्न खोजिएको र मन्त्री बलराम अधिकारीले हतार गर्न खोजेको सन्दर्भमा प्रधानमन्त्रीको पनि समर्थन पाएको हुनसक्ने उनले बताए । भूमि विधेयक पारित गर्ने भन्दैगर्दा संसद्मा हतारमा ल्याएर लटरपटर गर्न नहुने बताए ।