काठमाडौं । नेकपा ( एमाले ) को सचिवालय बैठकका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किएको बारेमा चर्चा भएको छ । आज ( बिहीबार ) पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किएको सन्दर्भ ल्याएका हुन् । उनले यस विषयमा पार्टीमा आवश्यक परे छलफल गरिनुपर्ने बताएको एमाले सचिव योगेश भट्टराईले बताए ।
‘आजको बैठकमा अध्यक्षज्यूले त्यस विषयमा पार्टीभित्र आवश्यक परे छलफल गरौं भन्नुभएको छ । अब आजको बैठकमा भ्याइएन भने पनि कुनै न कुनै बैठकमा छलफल हुन्छ,’– उनले भने । दुई पटक एमाले उपाध्यक्ष बनेर जिम्मेवारी पूरा गरिसकेकी भण्डारीले गत असार १४ गते आफूले पार्टी सदस्यता नवीकरण गरेको खुलासा गरेकी थिईन् । भण्डारीलाई अहिले एमालेको ११औं महाधिवेशनमा अध्यक्षको प्रतिस्पर्धी र आगामी २०८४ को प्रतिनिधिसभा निर्वाचनपछि प्रथम महिला प्रधानमन्त्रीको सम्भावित पात्रको रुपमा हेरिने गरेको छ ।
एमाले सचिव भट्टराईले पार्टीले भण्डारीलाई उचित स्थान दिनुपर्ने र त्यो सेटल गर्ने क्षमता एमालेसँग रहेको बताए । ‘म नेकपा ( एमाले ) को सक्रिय राजनीतिमा फर्किन्छु भने सेवा सुविधा सबै त्यागेर आइसकेपछि अब यो पार्टीको मामला भयो । पार्टीमा हामी छलफल गर्छौं । उहाँ आउनुहुन्छ पार्टीमा भने उहाँलाई उचित स्थान पनि दिनुपर्ला । हामी यसलाई सम्मानजनक ढंगले सेटल गर्छौं । नेकपा ( एमाले ) सँग त्यो क्षमता छ,’– उनले भने ।