काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ३२ लाख घुस लिएको अडिओ बाहिरिएको छ। व्यक्तिको नाममा जग्गा दर्ता गर्ने चलखेलमा मन्त्री अधिकारीले ३२ लाख घुस रकम लिएको दाबीसहितको अडिओ बाहिरिएको हो।अडिओमा पोखराको जग्गाका लागि घुस रकम लिनेमा तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँगै मन्त्री अधिकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारीका छोरा मनोज अधिकारीको नाम समेत उच्चारण गरिएको सुनिन्छ।
जग्गा मिलाउन मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख लिएको दाबी गरिएको अडिओमा सुनिन्छ। यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको दाबी गरिएको अडिओमा सुन्न सकिन्छ। त्यस्तै त्यहाँ जग्गाका लागि डेढ करोड खर्च भइसकेको पनि सुनिन्छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा दिन बाध्य पार्ने यसअघिको अडिओमा मन्त्री अधिकारीको नाम गुप्ता र बिचौलियाले लिएको सुनिएकामा मन्त्री अधिकारीले प्रतिनिधिसभा बैठकमा त्यसको प्रतिवाद गरेका थिए।
पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउनका लागि लागिपरेका व्यक्तिहरूको समूहसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री गुप्ताले हिजै मात्रै राजीनामा दिएका छन्।