काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले० मा आफ्नो जिम्मेवारी केन्द्रीय समितिले टुङ्ग्याउने बताएकी छन् । आज ( मंगलबार ) मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको ११औं महाधिवेशन नहुन्जेलसम्मको सर्वोच्च अंग केन्द्रीय समिति हुने र सोही समितिले आफ्नो जिम्मेवारी तोक्ने बताएकी हुन् ।
‘महाधिवेशन नहुन्जेल केन्द्रीय कमिटी नै सर्वोच्च अंग हुन्छ । केन्द्रीय कमिटीले के निर्णय गर्छ, कस्तो जिम्मेवारी दिन्छ, त्यसमा भर पर्छ भन्ने म तपाईँहरुलाई थप जानकारी दिन चाहन्छु,’– उनले भने । उनले एमाले दर्शन, सिद्धान्त, नीति र विचारमा चलिरहेको बताईन् । आगामी भदौ २० देखि २२ गतेसम्म हुने एमालेको विधान महाधिवेशनमा आफ्नो सहभागिताबारे पनि प्रश्न उठिरहेको उनले बताईन् । उनले उक्त विधान महाधिवेशनमा प्रतिनिधिहरु चयन गर्न सकिने बताईन् ।
‘जहाँसम्म विधान महाधिवेशनमा भाग लिने कुरा छ, विधान महाधिवेशनमा भाग लिने भन्ने विषय चाहिँ १०औं महाधिवेशनका प्रतिनिधिहरुले नै भाग लिने हो । तर, त्यसमा नयाँ प्रतिनिधिहरु पनि थपिएका छन् । केन्द्रीय कमिटीमा पनि सदस्यहरु मनोनित हुनुभएको छ । उहाँहरु सबै १०औं महाधिवेशनका प्रतिनिधि हुनुहुन्थ्यो कि हुनुहुन्थेन । पार्टीले त्यसलाई छलफल गर्ला नै,’– उनले भनिन् ।