काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् । मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।
‘प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डल बाहेक स्पेन को को गए ? कुन विधि प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेको छु’ मन्त्री लेखकले भने– ‘जानका लागि भिजिट भिसाको प्रबन्ध कसले गर्यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ ।’
उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । ‘यस विषयमा दोषी देखिएकाहरूलाई कारबाही गरिने छ’ उनले भने । प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए ।