काठमाडौँ । क्रिकेटर आरिफ शेख कास्पियन भ्याली कलेज ललितपुरको ब्रान्ड एम्बासडर बनेका छन् । यस विषयमा आरिफ र कास्पियन कलेजबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आरिफ र कलेजका प्रिन्सिपल मनीष पण्डितले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । पण्डितले सम्झौता १ वर्षका लागि भएको जनाए । यद्यपि सम्झौताको आर्थिक पक्षबारे खुलाइएको छैन । कति पूर्णाङ्क ल्याइयो भन्ने मानसिकताले जरा गाडेको अवस्थामा कलेजका विद्यार्थीलाई धेरै किसिमले तयार गर्नुपर्छ भनेर खेलकुदबाट पनि बाटो खोलिदिएर आरिफ युवा पुस्ताको राल मोडल भएकाले सम्झौता गरेको जनाए ।
‘मलाईलाई क्रिकेटले आत्मविश्वासलगायत धेरै सिकाएको छ, यस्तोखाले सम्झौताले मलाई थप आत्मविश्वास दिनेछ र राम्रो खेल्न प्रेरित गर्नेछ,’ क्यास्पिएनसँगको सम्झौतापछि आरिफले भने । आरिफसँग सम्झौता गरेसँगै कलेजले भविष्यमा कलेज क्रिकेट प्रतियोगिता पनि आयोजना गर्न चाहेको जनाए । क्रिकेट खेलाडीलाई अनुबन्धन गरेकामा नेपाल क्रिकेट संघका सदस्य सुदीप शर्माले क्यास्पियन कलेजलाई धन्यवाद दिए ।
हालै स्कटल्यान्ड भ्रमणमा आरिफले डन्डीमा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालले विश्वकप क्रिकेट लिग २ का खेलमा अविश्वसनीय प्रदर्शन गर्दै ४ मध्येको ३ खेल जित्दा आरिफले नेदरल्यान्ड्सविरुद्ध म्याच विजयी क्रमशः ७८ र ८४ रनको इनिङ्स खेलेका थिए । त्यस्तै उनले स्कटल्यान्डविरुद्ध क्रमशः ७ र ३९ रन बनाएका थिए ।
गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको नेपालको ट्वान्टी–२० विश्वकप टोलीमा नरहेका आरिफले ग्लास्गोमा भएको तीनदेशीय ट्वान्टी–२० शृंखलाको अन्तिम २ खेलमा खेल्न पाएका थिए । नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको विजय हात पार्दा उनी २५ बलमा ३९ रनमा रिटायर्ड हर्ट भएका थिए । अक्टोबरमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप एसिया एवं एसिया–प्यासिफिक छनोटका लागि ३२ सदस्यीय नेपाली टोलीमा आरिफलाई पनि समावेश गरिएको छ । यसबारेमा उनले भने, ‘आउने दिनमा ट्वान्टी–२० मा जति अवसर पाउँछु, त्यसलाई पूर्ण सदुपयोग गर्नेछु ।’
५० ओभर खेलको विशेषज्ञ मानिएका आरिफले नेपालबाट ६१ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ९ अर्धशतकका साथ १ हजार ३ सय २६ रन बनाइसकेका छन् । रोहित पौडेल ९१८५१०, उनका भाइ आसिफ शेख ९१५६९० र कुशल भुर्तेल ९१३९८० ले मात्र आरिफले भन्दा बढी एकदिवसीय अन्तर्राष्ट्रियमा रन बनाएका छन् । रासस