काठमाडौं । काठमाडौं जिल्ला अदालतले चालु आर्थिक वर्ष २०८१/८२ को असार २७ गतेसम्म २६ हजार ७४४ मुद्दा छिनोफानो गरेको छ । आइतबार काठमाडौं जिल्ला अदालतको काम कारवाहीसम्बन्धी जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले मुद्दा फर्छ्योटबारे जानकारी दिए । भट्टराईले प्रस्तुत गरेको तथ्यांकअनुसार २७ असारसम्म जिल्ला अदालतमा २५ हजार ६३९ वटा नयाँ मुद्दा दर्ता भएका छन् । यसै अवधिमा अदालतले २६ हजार ७४४ मुद्दा फर्छ्योट गरेको छ ।
गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका २६ हजार ५०२ मुद्दा र नयाँ दर्तासहित जिल्लामा कुल ५२ हजार १४१ मुद्दा थिए । अझै जिल्लामा २५ हजार ३९७ मुद्दा बाँकी रहेका छन् । फर्छ्योट हुन बाँकी मुद्दाहरूमध्ये दुई वर्ष नाघेका मुद्दाको संख्या एक हजार ८५३ छ । पछिल्ला पाँच वर्षमा यो वर्ष सबैभन्दा धेरै मुद्दा छिनोफानो भएको श्रेष्तेदार भट्टराईले जनाए । उनका अनुसार आव २०७७(७८ मा ३७।०९, ७८.८९ मा ३९.२९, ७९.८० मा ४२.४५, ८०८१ मा ४६.८१ र ८१.८२ को असार २७ गतेसम्म ५१.२९ प्रतिशत मुद्दा छिनोफानो भएका छन् ।गएको २०८१ साउन १ देखि असार २७ गतेसम्मको तथ्यांकअनुसार अदालतमा दर्ता भएको संख्याभन्दा बढी मुद्दा फर्छ्योट भएका हुन् ।
फैसला कार्यान्वयनमा समस्या
मुद्दा फर्छ्योटको अवस्था सन्तोषजनक देखिए पनि फैसला कार्यान्वयनमा कमजोर देखिएको छ । अघिल्लो आर्थिक वर्षबाट सरेर आएका ३३ हजार ३९३ फैसलामध्ये मात्र १२।५१ प्रतिशत फैसला मात्र कार्यान्वयन भएको छ ।
यस अवधिमा केवल ४ हजार १८० वटा फैसला मात्र कार्यान्वयन भएका छन् । फैसला गरेका मुद्दाहरूबाट ९ हजार २३५ वर्ष कैद भुक्तान भएकोमा विभिन्न व्यक्तिहरूलाई तोकिएको २ हजार ८८ वर्ष कैद गर्ने फैसला कार्यान्वयन भएको छैन् ।
मेलमिलापको कमजोर स्थिति
न्यायालयले मेलमिलापबाट समाधान हुनसक्ने मुद्दाहरूलाई मेलमिलाप केन्द्रमा पठाउने गरेको छ । तर, यस क्षेत्रमा सफलताको दर निकै कम रहेको देखिएको छ । असार २७ गतेसम्म मेलमिलाप केन्द्रमा पठाइएका २ हजार ७०५ मुद्दामध्ये मात्र ३०१ मुद्दा मेलमिलाप भएका छन् । यसले केवल ११।१२ प्रतिशत सफलता दर देखाउँछ ।
हाल मेलमिलाप प्रक्रियामा रहेका मुद्दाको संख्या ३८४ रहेको छ भने मेलमिलाप हुन नसकी दुई हजार २० मुद्दा अदालतमै फिर्ता आएका छन् ।