काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने भएको छ। अभियानका अध्यक्ष गौतम र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर भएको हो।
साउन २ गते राष्ट्रिय सभागृहमा एकताको घोषणा गर्ने समझदारी भएको छ। गौतम यसअघि एकीकृत समाजवादीमा जाने चर्चाका बीच एमालेले बोलाएपछि त्यता लम्किएका थिए। तर एमालेले धोका दिएपछि उनी माधव नेपालको पार्टीमा समाहित हुने निष्कर्षमा पुगेका हुन्।
पूर्वउपप्रधानमन्त्री तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ उपाध्यक्ष दिने सहमति भएको छ । शुक्रबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र गौतमबिच पार्टी एकता गर्ने सहमतिसँगै एकीकृत पार्टीमा गौतमको वरीयताबारे पनि टुङ्गो लागेको हो ।
हाल एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल पहिलो बरियता, सम्मानित नेता झलनाथ खनाल दोस्रो वरीयतामा रहेका छन् । गौतम खनालपछिको वरीयतामा हुनेछन् । हाल खनालपछि तेस्रो वरीयतामा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे रहेका छन् ।