काठमाडौं। नेपाल क्रिकेट संघ ( क्यान ) एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि रक्षा गरेको टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने भएको छ। शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको थियो। नेपालले सन् २०२३ मा पनि यो कपको उपाधि उचालेको थियो।
सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको हो। योसँगै संगापुर समूह चरणको हारको बदला लिन फेरि चुकेको छ। नेपालसहित पूर्वी एसियाका भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेसिया, थाइल्यान्ड र सिंगापुर सहभागी उक्त प्रतियोगिता २० जुनदेखि ५ जुलाईसम्म मलेसियामा सम्पन्न भएको थियो।
नेपालले फाइनलमा सिंगापुरलाई हराएर उपाधि जितेको थियो । यही प्रतियोगितामा भएको पहिलो भेटमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै समूह विजेता बनेको थियो।