गुजरात । गुजरातको बडोदरा र आनन्दलाई जोड्ने पुल बुधबार भत्किँदा महिसागर नदीबाट १५ जनाको शव निकालिएको छ। बुधबार नै १३ जनाको शव निकालिएकोमा बिहीबार बिहान थप २ जनाको शव फेला पारेको हो ।
दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चार जना अझै बेपत्ता रहेको बताइएको छ। उनीहरूको खोजी जारी छ। बुधबार बिहान महिसागर नदीमाथिको पुल भत्किँदा दुई ट्रक, दुई कार र एउटा रिक्सा नदीमा खसेका थिए। एउटा ट्याङ्कर भने पुल भाँचिएको छेउमा अड्किएको थियो।
यो ४५ वर्ष पुरानो पुलले दक्षिण गुजरातलाई सौराष्ट्रसँग जोड्थ्यो। यो पुल भत्किँदा भरुच, सुरत, नवसारी, तापी र वलसाडबाट सौराष्ट्र पुग्न अप्ठ्यारो भएको छ। अब यसका लागि अहमदाबाद हुँदै जानुपर्नेछ।