काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला समूहको बैठकले नेताहरूमाथि गरिएको कारबाही विधानविपरीत र एकातर्फी भएको निष्कर्ष निकालेको छ । बिहीबार नेता कोइरालाको सम्पर्क कार्यालयमा बसेको समूहको बैठकले नेताहरूमाथिको गरिएको कारबाही प्रक्रिया अगाडि नबढाउन सभापति शेरबहादुर देउवालाई आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकले कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने र न्याय दिलाएरै छाड्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरूलाई कारबाही गरेपछि नेता कोइरालाले समूहका नेताहरूको बैठक बसेको थियो । बैठकमा उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा, उपसभापतिहरू र महामन्त्रीहरूबीच अहिले अनुशासन समितिको फाइल अहिले नचलाउने कुरा भएको तर, हिजो समितिका संयोजक आनन्द छलफल नै नगरी एक्कासि विज्ञप्ति निकालेर कारबाही गरिएको बताएका थिए ।
बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतमलगायत काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी थिए । समितिले गत निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै केही नेतालाई कारबाही गरेको थियो । कारबाही पर्नेहरूमा पूर्वमन्त्री, प्रदेश महामन्त्री, जिल्ला सभापति, जिल्ला पूर्व सभापति समेत छन् ।