काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै असार २४ गते रसुवामा बाढी आएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाएको छ ।
विभागले बिहीबार उक्त बाढीबारे अपडेट गराउँदै हिमताल विस्फोटबाटै बाढी सृजना भएको प्रारम्भिक निष्कर्ष निकालेको हो । यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको पनि विभागले जनाएको छ ।
‘आगामी दिनमा भू–उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरूले समेत थप पुस्ट्याइँ दिन सक्नेछ’, विभागले भनेको छ । जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने र आधिकारिक जानकारी अपडेट गर्दै जाने व्यहोरा अवगत गराएको छ । चीनको लेन्दे खोला हुँदै नेपालको भोटेकोशी नदीमा आएको बाढीले ठुलो जनधनको क्षति गरेको थियो ।