काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मर्नेको संख्या ७ पुगेको छ । नेपाल प्रहरीका अनुसार अहिलेसम्म सात जनाको शव फेला परेको छ । बाढीमा परी बेपत्ता हुनेको संख्या भने १८ रहेको छ । बेपत्ता १८ मध्ये ३ जना नेपाल प्रहरी, ६ जना चाइनिज नागरिक, ९ जना नेपाली रहेका छन् ।
त्यस्तै, बाढीको कारण फसेका ५५ जनाको सकुशल उद्धार गरिएको छ । बाढीका कारण गोसाईँकुण्ड गाउँपालिका १, २ र ३, आमाछोदिङ्मो गाउँपालिका १, २, ४ र ५, उत्तरगया गाउपालिका २, ४ र ५, कालिका गाउँपालिका १ क्षेत्र प्रभावित भएको छ ।
बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ भने विद्युतीय चार्जिङ स्टेसनमा क्षति पुगेको छ । अन्दाजी ७÷८ वटा इलेक्ट्रिक गाडी बगाएको, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुगेको र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको प्रहरीले जनाएको छ । बाढीको कारण सडक चर्किँदा धुन्चेदेखि टिमुरेसम्म जाने सडक अवरुद्ध भएको छ ।