काठमाडौं । नेकपा एसको सचिवालय बैठक अहिले बसिरहेको छ । विहीबार केहीबेर बसेर महासचिव घनश्याम उपाध्यायको अस्वस्थाको कारण देखाउँदै स्थगित बैठक केहीबेरअघिबाट सुरू भएको हो ।
बैठकमा पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा, समसामयिक राजनीतिक विषय मूल एजेण्डा छन् । योबाहेक नेतृ रामकुमारी झाँक्रीले केही दिनअघि नेपालमाथि दिएको विस्फोटक अभिव्यक्तिले पनि प्रवेश पाउने बताइएको छ । आजको बैठकले उनीमाथि कारबाहीबारे केही निर्णय गर्ने सम्भावना रहेको उपाध्यक्ष जयन्ती राईले बताइन् ।
नेकपा एसका नेताहरूले झाँक्रीलाई स्पष्टीकरण सोधेको बताउँदै आएका छ्न् । तर, विहीबार आफ्ना कुरा राख्न भनी बैठकमा आएकी उनले आफूलाई कुनै स्पष्टीकरण नसोधिएको उल्टै नेताहरूले सामाजिक सञ्जालमा हिंसात्मक अभिव्यक्ति दिएको बताएकी थिइन् । उनले एक लिखित पत्र पार्टीलाई बुझाएकी छन् ।
विहीबारको सचिवालय बैठकमा पार्टिका अधिकांश नेताले झाँक्रीले बोल्नै नहुने कुरा बोलेको भन्दै पार्टीबाट निष्कासन गर्नुपर्ने धारणा राखेका थिए । त्यसदिन केही नेताले बोलेका थिए । बाँकी नेताले आज धारणा राख्ने बताइएको छ ।