काठमाडौं । नेकपा माओवादी केन्द्रलगायत पाँच वामपन्थीले इजरायलले मध्यपूर्वका मुलुकमाथि गरेको हस्तक्षेपविरुद्ध साझा कार्यक्रम गर्ने भएका छन् ।माओवादी कार्यालय पेरिसडाँडामा शनिबार बसेको पाँच दलको बैठकले मध्यपूर्वमा इजरायली हस्तक्षेपविरुद्ध साझा कार्यक्रम गर्ने निर्णय भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।
प्यालेस्टाइनीमाथिको बर्बरतापूर्ण इजराइली नरसंहारविरुद्ध अभियान नै सञ्चालनका लागि संयन्त्र गठन गर्नेसम्मका विषयमा छलफल भएको उनले बताए ।महासचिव गुरुङले अन्य दलसँग पनि छलफल अघि बढाइने जानकारी दिए ।
उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा ( विप्लव ) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा ( मसाल ) का महासचिव मोहनविक्रम सिंह, र नेकपा ( क्रान्तिकारी माओवादी ) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी थिए। बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरूमा छलफल भइरहेको प्रचण्ड सचिवालयले जनाएको छ।