काठमाडौं । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको छेडखानी छानविन गर्न संसदीय विशेष समिति बन्ने भएको छ । सभामुख देवराज घिमिरेसँग भएको प्रमुख सचेतकहरुको भेटमा छानविनका लागि विशेष समिति बनाउने निर्णय भएको बताइएको हो ।
नेकपा ९एमाले० संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार समिति सात सदस्यीय रहने छ । ‘संसद्को नियमावलीको नियम १८० बमोजिम यस विषयका सन्दर्भमा आवश्यक छानविन गर्न, यो कम्जोरीभित्रको व्यक्ति, पात्र को हुन् भन्ने कुरा छानविन गर्न सात सदस्यी विशेष संसदीय समिति बनाउने निर्णय भएको छ,’– उनले भने ।
विशेष संसदीय समितिमा नेपाली कांग्रेसबाट २ जना, एमालेबाट २ जना, माओवादी केन्द्रबाट १ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ जना र राप्रपाबाट १ जना सदस्य रहने बताइएको छ । संसदीय समितिको नेतृत्व नेपाली कांग्रेसबाट रहने नेता बर्तौलाले बताए । ‘सात सदस्यीय बनाउने र यसको नेतृत्व नेपाली कांग्रेसको तर्फबाट रहनेगरी कुरा भएको छ । आजको बैठकको यो निर्णय भयो । यही हिसाबले पर्सीको बैठकमा यो बन्छ,’– उनले भने ।