काभ्रे । अरनिको राजमार्गको धुलिखेल–सूर्यविनायक सडकको वैकल्पिक मार्ग बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलाको पुल भाँचिएको छ । काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा बनेको पुल भाँचिएपछि उक्त सडकमा पूर्णरुपमा आवागमन बन्द भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख सुनील ध्वाजुले जानकारी दिए ।
रातिको समयमा नाला पुलबजार छेउको पुल भाँचिएपछि यात्रुहरू र स्थानीयवासीहरूलाई आवतजावतमा कठिनाइ भएको छ भने यातायातका साधनहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन् । धुलिखेल सुर्यविनायक सडक निर्माण भइरहेकोले अवरुद्ध छ । त्यसकै विकल्पमा रहेको यो सडकको पनि पुल भाँचिएपछि वैकल्पिक सडक अवरुद्ध भएको हो ।
सुर्यविनायक सडक खण्ड निर्माण कार्य भइरहेकोले यो सडकमा पछिल्लो केही महिनायता ठुला सावरी साधानहरु ले पनि यो सडक प्रयोग गर्न थालेपछि जीर्ण रहेको पुल भाँचिएको बनेपा प्रहरीले जानकारी दिएको छ । सडक कार्यालयले अस्थाई रुपमा कल्र्भट निर्माण गरेर सडक सूचारु गर्ने जानकारी दिएको छ ।