काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) देशव्यापी रूपमा भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। बिहीबार ( आज ) बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
यस्तै बैठकले आसन्न रुपन्देही ३ को उपनिर्वाचनलाई लक्षित गरेर पार्टीका उपाध्यक्ष ध्रुव प्रधानको नेतृत्वमा निर्वाचन परिचालन समिति निर्माण गरेको छ भने उम्मेदवार चयनका लागि जिल्ला कार्यसमितिलाई सूची पठाउन निर्देशन दिएको छ। राप्रपाले रुपन्देहीको क्षेत्र नं.३ मा हुन गइरहेको उपनिर्वाचनको तयारीमा लागेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जिल्ला समितिलाई आवश्यक प्रक्रिया र तयारी गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ ।
उक्त क्षेत्रमा उठ्नका लागि सम्भावित उम्मेदवारको नाम पठाउन निर्देशन दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । त्यस्तै, बैठकले वरिष्ठ नेता उपाध्यक्ष ध्रुब बहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा निरञ्जन थापा, प्रदीप उदय, ताहिर अली सदस्य रहेका छन् । बैठकले भ्रष्टाचार विरोधी गतिविधिलाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, भिजिट भिसा प्रकरण र निजामती सेवा विधेयकका पनि टिप्पणी गरेको छ ।