रुपन्देही । लुम्बिनी प्रदेशको बजेट आजै पास गर्ने तयारी रहेको छ । प्रदेश सभाको छैटौँ अधिवेशनको १६ औँ बैठकमा बजेटको विभिन्न शीर्षकहरूमाथि समूहकृत छलफल र जवाफ दिने समय निर्धारण गरिएको छ । बुधवार दिउँसो १२ बजे बस्ने बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को विभिन्न मन्त्रालय एवं सो सँग सम्बन्धित निकायका शीर्षकहरूमाथि समूहीकृत छलफल हुने र छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूचीमा समावेश गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरले जानकारी दिए ।
मङ्गलवार राती साढे ८ बजे बसेको प्रदेश सभाको १५ औँ बैठकले ‘आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । साथै सैद्धान्तिक छलफलमा भाग लिने प्रदेश सभा सदस्यहरूको नामावली प्राप्त नभएको भन्दै सभामुखले सैद्धान्तिक छलफल टुंगिएको सभामा जानकारी गराएका थिए ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारले बलजफती बजेट पास गर्न लागेको भन्दै विरोध गरेको छ । प्रमुख सचेतक इन्द्रजित चौधरीले बुधवार छलफलमा सहभागी हुने बताए पनि नमानेर मङ्गलवार नै राति राती सदन चलाइएको जनाए ।