काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष तीन महिना कैद सजाय तोकिएको छ । सोमबार विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३९१० बमोजिमको कसुरमा ८ वर्ष र दफा ३०९१० बमोजिम थप ३ महिना कैद सजायको फैसला गरेको हो ।
अदालतले बस्नेतबाट २६ करोड २५ लाख रुपैयाँ सम्पत्ति जफतको फैसला गरेको छ । बस्नेतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस १४ गते मुद्दा दायर गरेको थियो ।
यस्तै बस्नेतलाई १ करोड ५ लाख रुपैयाँ र पद्मा कोलनीका सञ्चालक कँडेललाई ९ लाख २२ हजार रुपैयाँ पीडित राहत संकलन कोषमा भराउने फैसला समेत अदालतले गरेको छ । उक्त मुद्दामा बस्नेतसहित कँडेल पनि दोषी ठहर भएका थिए । अदालतले निलम्बित मेयर बस्नेतकी श्रीमती उर्मिलालाई भने सफाइ दिएको छ ।