काठमाडौं । नेपाल शिक्षक महासंघले फेरि आन्दोलनमा होमिने चेतावनी दिएको छन् । महासंघसँग सरकारले गरेको सहमति अनुसार प्रतिनिधिसभाबाट तत्काल शिक्षा विधेयक पारित नभएमा आन्दोलनमा जाने महासंघको चेतावनी रहेको छ ।
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयक माथि चलिरहेको छलफल शीघ्रातिशीघ्र सम्पन्न गरी विगतका सहमतीहरु समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक अविलम्ब प्रतिनिधि सभामा पेश गरी पारित गराउन महासंघले सरकारको ध्यानाकार्षण गराएको हो ।
‘यो कार्यमा विलम्व गर्ने सुविधा कसैलाई छैन । यस काममा कुनै पनि खालको विलम्व र षडयन्त्र भएमा ने। शि। महासङ्घ तुरुन्तै आन्दोलनमा जान बाध्य हुने कुरा उद्घोष गर्दछौं,’– महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा भनिएको छ ।
अब हुने आन्दोलनबाट सिर्जना हुन सक्ने परिणामप्रति सचेत रहन तथा यो परिस्थिति निर्माण हुन नदिन सक्रिय र गम्भीर रहन महासंघले आग्रह गरेको छ । महासंघले यसअघि २९ दिने काठमाडौं केन्द्रीत आन्दोलन गरेको थियो । उक्त आन्दोलनको क्रममा सरकारसँग असार १५ भित्र प्रतिनिधिसभाबाट शिक्षा विधेयक पारित गराउने सहमति भएको थियो ।