सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ११ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको छ। प्रहरीले बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई शुक्रबार सिन्धुपाल्चोक प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ। भोटेकोसी गाउँपालिका ५ छ्याङ्दीस्थित जंगलमा बालिकाको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बालिकाको हत्या असार १० गते राति साढे १० बजेतिर भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी रामेश्वर कार्कीले बताए।
बालिकालाई आफ्नै घरभन्दा चारसय मिटर टाढा लगेर हत्या गरिएको अवस्थामा फेला पारेका थिए। प्रहरीले घटनाको जानकारी पाएपछि तालिमप्राप्त कुकुर समेत झिकाएर अनुसन्धान गरेको थियो। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँ पठाइएको पनि एसपी कार्कीले बताए। एसपी कार्कीको कमाण्डमा खटिएको टोलीले हटनामा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भोटेकोसी गाउँपालिका ५ मार्मिङका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षका वाङनिमा तामाङ, ३२ वर्षका नामग्याल शेर्पा, २० वर्षका दावा तामाङ र २२ वर्षका लाक्पा पासाङ तामाङ रहेका छन्। प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि घरमा समेत खानतलासी गरेको थियो। त्यसक्रममा घटनामा प्रयोग भएका केही सबुद समेत फेला पारेको छ। थप अनुसन्धानका लागि जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिन म्याद लिइएको पनि एसपी कार्कीले बताए।
घटनामा अन्य संलग्न नरहेको र संलग्न देखिएका सबै पक्राउ गरिसकेको प्रहरीको दाबी छ। सुरुमा चार जना र पछि एक जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका आरोपितहरुले सामुहिक बलात्कार गरिसकेपछि घटना लुकाउन हत्या गरेको प्रहरीसँग प्रारम्भिक सोधपुछका क्रममा बताएका छन्। थप अनुसन्धान भइरहेको छ।