काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न आरोपी ज्योतिबहादुर भण्डारीलाई प्रहरीले कम्बोडियाबाट काठमाडौँ ल्याएको छ । रकम अपचलनमा मुछिएपछि कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको हो । रेड कर्नर नोटिसका आधारमा उनी कम्बोडियामा पक्राउ परेका उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो । इन्टरपोलको सहयोगमा उनलाई कम्बोडियाबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो ।
भण्डारीलाई ल्याउन नेपाल प्रहरीका अधिकृत कम्बोडिया गएका थिए । सिंगापुर एयरलाइन्सको उडानमार्फत उनलाई काठमाडौँ ल्याइएको हो । कम्बोडियाको कानुन उल्लङ्घन गरेको आरोपमा उनी त्यहाँ पक्राउ परेका थिए । पक्राउ परेको सूचना पाएसँगै उनलाई नेपाल ल्याउन इन्टरपोल मार्फत पत्राचार गरिएको थियो ।
ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा उनीबिरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । बर्दिया घर भएका ज्योति भण्डारी समेतले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । मितेरीको रकम अपचलनमा संलग्न आरोपमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।