कैलाली । धनगढी स्थित कारागारमा रहेका डडेल्धुराका व्यवसायी हरिसिंह पालीको शंकास्पद मृत्यु भएको छ । प्रहरीले नै कुटपिट गरेर पालीको हत्या गरिएको आफन्तको आरोप छ । डडेल्धुरामा उद्योग वाणिज्य सङ्घ लगायत विभिन्न सङ्घसंस्था र स्थानीयले पालीको कुटपिट गरेर हत्या गरिएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
डडेल्धुरा भागेश्वर गाउँपालिका ५ निवासी २८ वर्षीय पालीलाई प्रहरीले बैङ्किङ कसुरमा डडेल्धुराको तुफानडाँडा बाट पक्राउ गरेर सिधै कारागार नल्याई ४ दिनसम्म नियन्त्रणमा राखेर मानसिक, शारीरिक यातना र कुटपिट गरेको आफन्तले बताएका छन् ।
कुनै पनि बिरामी नभएका स्वस्थ रहेका पालीको कुटपिट गरेर हत्या गरिएको आफन्तको भनाई छ । ‘कुनै रोग बिराम नभएको स्वस्थ मेरो भाइको शरीर भरि नीलडाम छन्, यो हत्या गरिएको हो’मृतकका दाजु जगदिश रावलले भने,‘ हत्या गर्ने दोषीलाई कारबाही गरियोस्’।
डडेल्धुरामा प्रदर्शन
कारागार भित्र कुटपिट गरेर हत्या गरिएको भन्दै डडेल्धुरामा बजार र यातायात बन्द गरेर स्थानीय तथा व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । डडेल्धुरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष दिपक बहादुर महताले कुटपिट गरेर हत्या गरिएको घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग रहेको बताए ।
यसैबिच उद्योग वाणिज्य सङ्घ डडेल्धुरा, निर्माण व्यवसायी संघ डडेल्धुरा, होटल व्यवसायी सङ्घ डडेल्धुरा, डडेल्धुरा बैकंर सङ्घ, नागरिक समाज डडेल्धुरा लगायतका संस्थाहरूले संयुक्तरुपमा हत्याको विरोध गर्दै अनुसन्धानको माग राखेर बुधवार डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
‘डडेल्धुराबाट कुटपिट गर्दै कैलाली पुगाउने,कानुन अनुसार बाटोको म्याद सहित तत्काल अदालतमा पेश गरी कारागार बुझाउनु पर्नेमा ४ दिनसम्म आफ्नो नियन्त्रणमा राखेर शारीरिक तथा मानसिक यातना दिई हत्या गर्ने व्यक्तिलाई कारबाहीको जोडदार माग गर्दछौँ’ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
नागरिकको निर्बाध जिउने अधिकार र मानवअधिकारको गम्भिर उलङ्घन गरी मानसिक र शारीरिक यातना दिएर हत्या जस्तो गम्भिर अपराध गर्ने प्रहरी नायव निरीक्षक हरजित नाथ लगायतका व्यक्तिलाई कडा कारबाहीको माग हुनुपर्ने ध्यानाकर्षण पत्रमा लेखिएको छ ।
बैङ्किङ कसुर सम्बन्धी सम्मानित अदालतबाट १० दिन कैद र १० लाख जरिवाना तोकिएको व्यक्तिलाई पक्राउ गरेकै दिन कारागार नलगी ४ दिन नियन्त्रणमा राखेर कुटपिट गरी अशक्त भएपछि कारागार बुझाएको उल्लेख छ । हत्याको विरोध र स्वतन्त्र छानबिनको माग गर्दै असार ४ गतेदेखि अनिश्चित कालिन बजार व्यवसाय र यातायात बन्द गरेर आन्दोलनमा उत्रेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । दोषीलाई तत्काल पक्राउ गरेर पीडितलाई क्षतिपूर्तिको सहितको न्याय दिइनु पर्ने उनीहरूको माग छ । अहिले सम्म दोषीलाई पक्राउ नगरी सम्बन्धित निकाय मौन बसेको प्रति उनीहरुले आपत्ति जनाएका छन् ।
कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले सोमवार राती ११ बजेर ३० मिनेटमा उपचार क्रममा सोती प्रादेशिक अस्पतालमा ल्याइएका पालीको राती १२ बजेर १५ मिनेटमा मृत्यु भएको बताए । उपचारका क्रममा मृत्यु भएका पालीको मृत्यु हुनुको कारण अनुसन्धान हुन बाँकी रहेकाले खुल्न नसकेको उनले बताए । जाहेरी आएपछि घटनाको अनुसन्धान गरिने उनको भनाई छ।
सार्वजनिक भएको भिडिओमा पालीको खुट्टा, हात, टाउको लगायत शरीर भरी नीलडाम देखिएको छ । पालीको शवको पोष्टमार्टम अझै हुन सकेको छैन ।