काठमाडौँ । टिकटकमार्फत तथ्यहीन र भ्रामक सामग्री फैलाएको आरोपमा प्रहरीले ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार उनलाई जातीय तथा साम्प्रदायिक उत्तेजना फैलाउने आशंकामा पक्राउ गरेको जनाएको छ ।
ब्युरोका अनुसार बस्नेतले टिकटकमा नियोजित ढंगले तथ्यहीन र भ्रमपूर्ण सामग्री पोस्ट गर्दै प्रतिष्ठित व्यक्ति तथा संस्थामाथि लक्षित आक्षेप लगाएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले टिकटक लाइभमार्फत मधेशी समुदायलाई होच्याउने गरी बोलेको र उनका सामग्रीहरूबाट नकारात्मक धारणा फैलाउने तथा चरित्र हत्या गर्ने उद्देश्य देखिएको प्रहरीले जनाएको छ ।
उनले पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली र एमालेलाई लक्षित गर्दै टिकटक सामाग्री पोष्ट गरेकी थिइन्। उनले कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ती गरेको विषयमा पनि विरोध गरेकी थिइन्। यस्तै उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई असहयोग गरेको भन्दै उपमेयर सुनिता डंगोलको पनि आलोचना गरेकी थिइन्। उनले एमाले र अन्य दलका नेताहरुको पनि आलोचना गरेका सामाग्री टिकटकमा छन्।
पक्राउ परेकी युवती खोटाङ, हलेसीतुवाचुङ– ६ की स्थायी बासिन्दा रहेको र हाल भक्तपुर बस्दै आएको प्रहरीले जनाएको छ । उनलाई इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी भक्तपुरबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनलाई तीन दिन थुनामा राखेर थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाकारी दिएको छ । पछिल्लो समय सामाजिक सञ्जाल तथा अनलाइन मिडियामा सरकार तथा सत्तारुढ दलको आलोचना गर्नेहरुलाई प्रहरीले धमाधम साइबर अपराध मुद्दा लगाउन थालेको छ ।