काठमाण्डौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन्। मंगलबार बिहान उनी अदालतमा हाजिर भएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार मिश्रको आजै सुनुवाइ हुनेछ। उनको न्यायाधीश तारादेवी महर्जनको इजलासमा बयान र थुनछेक हुनेछ। उहाँ हाजिर भएर अहिले बयान र थुनछेक हुँदैछ,’ सूचना अधिकारी श्रेष्ठले भने।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलनमा मिश्रविरूद्ध जेठ ११ गते सरकारी वकिलको कार्यालय काठमाडौंले राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो। सरकारी वकिलले उनीसहित ६१ जनाविरूद्ध मुद्दा दायर गरेको थियो। ११ जनाविरूद्ध आपराधिक उपद्रव र बाँकी ५० जनाविरूद्ध राज्यविरूद्धको कसुरमा मुद्दा दायर भएको थियो। ५० जनामध्ये ३९ जना मात्रै अदालतमा उपस्थित भएका थिए।
उनी नवराज सुवेदी संयोजक रहेको ुसंयुक्त जनआन्दोलन समितिु ले तोकेका समितिका सदस्य सचिवसमेत थिए। उनलाई प्रहरीले चैत १५ गते घटना भएपछि त्यही साँझ पक्राउ गरेको थियो। अनुसन्धानका लागि प्रहरीले उनलाई हिरासतमा राखेको थियो। त्यसविरूद्ध उनकी श्रीमतीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। जेठ २ गते सर्वोच्चका न्यायाधीशहरू कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले हाजिर जमानीमा छाड्न आदेश दिएको थियो। मिश्र अधिवक्ताहरू श्यामबहादुर शाही र बसन्त ब्लोनको रोहबरमा छुटेका थिए।
तर मुद्दा दायर गर्न जाँदा प्रहरीले मिश्रलाई सम्पर्क गर्ने प्रयास गरेको थियो। उनी सम्पर्कविहीन भएको भन्दै प्रहरीले अधिवक्ता शाही र ब्लोनलाई सम्पर्क गरेको थियो। तर पनि मिश्र सम्पर्कमा नआएपछि जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतले दुबै जनालाई २५र २५ हजार रुपैयाँ जरिवाना समेत तोकेको थियो। त्यस निर्णयविरूद्ध सर्वोच्च पुगेका शाही र ब्लोनले कार्यान्वयन नगर्न अन्तरिम आदेश पनि लिइसकेका छन्।
मुद्दा दर्ता गर्दा उपस्थित भएका समितिले तोकेका कमाण्डर दुर्गा प्रसाईंसहित ३९ जनाको आदेश गत बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले गरेको थियो। उक्त इजलासले बिहीबार मध्यराति प्रसाईंसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। बाँकीलाई पुर्पक्षको लागि धरौटी माग गर्ने आदेश भएको थियो।
त्यस्तै उक्त आदेशपछि सोमबार राप्रपाका सांसद एवं महामन्त्री धवलशम्शेर राणा अदालतमा उपस्थित भएका थिए। अदालतमा उपस्थित भएका उनलाई अदालतले ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। उनी पनि धरौटी बुझाएर छुटिसकेका छन्। उनको सुनुवाइ सकेपछि मिश्र मंगलबार अदालतमा हाजिर भएका हुन्।