काठमाडौँ । सांसद प्रकाश ज्वालाले आगामी वर्षको बजेट मन्त्रीले कब्जा गरेको देखिएको बताएका छन् । उनले सोमबार प्रतिनिधिसभामा भएको बजेटको सैद्धान्तिक छलफलमा बोल्दै सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखिएको उनले बताएका हुन् ।
‘यो बजेट मन्त्रीमुखी आएको छ । यसमा पनि सहरी विकासको बजेट मन्त्रीहरूले एकलौटी कब्जा गरेको देखिएको छ । मन्त्रीका बाउ आमा र पाटीका कार्यालय बनाउन पार्टीका नामका आयोजनामा बजेट समावेश छ,’ उनले भने, ‘मन्त्रीमुखी बजेटलाई कसरी समर्थन गर्न सकिन्छ यसमा हाम्रो घोर आपत्ति छ ।’
बजेट अर्थ राजनीतिको दस्ताबेज तथा जनतालाई डेलिभरी दिने अन्तिम औजार भएको र बजेटले पोलिसी डिपार्चर गर्ने आशा गरिएको थियो । तर त्यस्तो हुन नसकेको तर्क गरे । ‘नयाँ भिजन पनि दिन सकेन । बजेटले जनतालाई आशा भरोसा र समृद्धिको मार्गचित्र पनि दिन सकेन । बिचौलिया र व्यापारी खुसी हुने त्यसमा पनि आयात व्यापारी खुसी हुने जनता दुखी हुने खालको आएको छ । त्यसमा पनि भुँइमान्छेलाई बिर्सिएको छ ।’