काठमाडौं । नेकपा ९एमाले० का सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) संसद्भित्र कुहिरोमा हराएको कागजस्तो उद्देश्य र गन्तव्यविहीन अवस्थामा रहेको बताएका छन् । आज ९आइतबार० संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले रास्वपा अहिले नेतृत्वविहीन अवस्थामा रहेको र दलभित्रै पनि एउटाले भनेको कुरा अर्कोले नमान्दा अहिलेको अवस्था आइपुगेको बताएका हुन् । उनले रास्वपा अहिले छरपष्ट अवस्थामा रहेको पनि दाबी गरे ।
‘रास्वपा उदयमान पार्टीको रुपमा यहाँ आएको छ । हामीले उहाँहरुलाई सम्मान पनि गरेका छौं । युवा साथीहरु हुनुहुन्छ । पढेलेखेका साथीहरु हुनुहुन्छ । तर, मलाई के लाग्यो भने अस्तीको घटना र आजको पनि घटनाले संसद्भित्र रास्वपा नेतृत्वविहीन अवस्थामा छ । रास्वपा चाहिँ नेतृत्वविहीन छ । जब पार्टी नेतृत्वविहीन हुन्छ, त्यो अन्यौलमा पर्छ । रास्वपा अहिले एकदमै बादलभित्र उडिरहेको कागजस्तो उद्देश्यविहीन र गन्तव्यविहीन अवस्थामा छ । त्यसको एउटै कारण नेतृत्व भएन । नेतृत्व नभएपछि पार्टी यस्तै हुन्छ । छरपष्ट हुन्छ । एउटाको मत अर्कोले मान्दैन,’– उनले। भने ।
भिजिट भिसा प्रकरण छानविन गर्न सरकारले प्रतिवद्धता जनाइसकेको उनले बताए । दीर्घकालीन ढंगले कानूनी र संरचनागत सुधार गर्ने पनि सरकारको प्रतिवद्धता रहेको उनले बताए । भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भिजिट भिसा प्रकरणको अनुसन्धान र छानविनको प्रक्रिया थालिसकेको जानकारी गराए । भिजिट भिसामा आगामी दिनमा कुनै पनि नेपाली नठगिउन् भन्ने कुरामा सबैको साझा मत रहेको उनले बताए ।
‘उहाँहरुले छानविनको सुनिश्चितता खोज्नुभएको थियो । नेपाली कांग्रेस र हामीसित बसेर उहाँहरुलाई छानविनको सुनिश्चितता हुन्छ भन्ने कुराको ग्यारेन्टी पनि गरेको हो । उहाँहरुले समय तोकौं भन्नुभएको थियो । एक महिनाभित्र काम थाल्ने भनेर प्रस्ताव ल्याउनुभएको थियो । त्यसमा हामी सहमति थियौं । तर, अचानक उहाँहरु पछाडि हट्नुभयो । किन हट्नुभयो थाहा भएन,’– उनले भने । भिजिट भिसा प्रकरण छानविनका लागि समिति बनाउनुपर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् अवरुद्ध गरेका थिए ।