पर्सा । बुटवलको सुप्रिम सहकारी ऋण तथा बचत सहकारी संस्थाको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित लामिछानेविरुद्ध जेठ ३० गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरिएको हो ।
सहकारी ऐन २०७४ को दफा १ सय २४ अनुसार १० करोडभन्दा बढी १ अर्बसम्म बिगो भएकाले लामिछानेलाई ६ देखि ८ वर्ष कैद सजाय पनि हुन सक्छ । यसबाहेक उनीमाथि संगठित अपराध निवारण ऐन २०७० को दफा ९ को खण्ड ९क० र ९ग० बमोजिम थप सजायसमेत माग गरिएको छ । जसअनुसार उनलाई प्रचलित कानुनको अतिरिक्त ५० प्रतिशत थप सजाय पनि हुन सक्छ ।
वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर करिब १ महिनाअघि पर्सा प्रहरीले सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो । त्यसै आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाउपर जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
सोही मुद्दामा छविलाल जोशीसँग ७ करोड २० लाख बिगो, सहकारी ऐनअनुसार बिगोबमोजिम सजाय र जरिवाना तथा संगठित अपराध नियन्त्रण ऐनअनुसार थप सजायसमेत माग गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सानो पाइलाबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ र नेचर हर्ब्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैयाँ स्थानान्तरण भएको पाइएको थियो । सानो पाइला सहकारीबाट जति रकम विभिन्न व्यक्तिले लगेका छन् त्योभन्दा बढी काठमाडौंमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था एक्लैले लगेको पाइएको थियो । सानो पाइलाबाट उक्त सहकारीको खातामा १ अर्ब १५ करोड ९१ लाख ४४ हजार ३ सय ९५ रुपैयाँ ट्रान्सफर भएको छ ।
वीरगन्ज–६ आदर्शनगरमा कार्यालय स्थापना गरी सन्चालन गरिएको सानो पाइला सहकारीले स्थानीय ५ हजार ८ सय ७३ बचतकर्ताको कूल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ अपचलन गरेको प्रहरीले यकिन गरेको थियो । २०८० साउन २१ गते नाजनिन बेगमसहित ५२ बचतकर्ताले ४ करोड ३४ लाख २४ हजार २३ रुपैयाँ सानो पाइला सहकारीले अपचलन गरेको दाबीसहित जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए । त्यसपछि विशाल सहनी गोढीसमेत २ सय ७ बचतकर्ताले आफूहरूको ४ करोड ५८ लाख १४ हजार ४ सय २१ रुपैयाँ अपचलन भएको दाबी सहित २०८० भदौ २२ गते जाहेरी दिएका थिए ।
२०८१ फागुन २ मा मनिषकुमार सिस्कासमेत १ सय ७९ बचतकर्ताले आफूहरुको २४ करोड ५८ लाख ३१ हजार ९ सय २८ रुपैयाँ अपचलन भएको दाबीसहित जाहेरी दरखास्त दिएका थिए । सानो पाइला सहकारीको हकमा सुरुमा जाहेरी दर्ता भएपछि प्रहरीले सहकारीको रकम अपचलनमा मात्र अनुसन्धान गरेकोमा पछि संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरेको थियो । प्रहरीले सानो पाइला सहकारीको अडिट रिपोर्ट, डे बुक, भौचर, जीसीएस नामक सफ्टवेर आदि संकलन गरी सुक्ष्म अनुसन्धान गरेको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई २०८१ चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्ला अदालत रूपन्देहीले १३ माघ ०८१ मा एक करोड रुपैयाँ धरौटीमा छाड्न गरेको आदेश उच्चले बदर गरेको हो ।