हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२(०८३ को वार्षिक बजेट आज आइतबार बागमती प्रदेश सभामा बजेट प्रस्तुत गर्दै छन् । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२(०८३ को राजस्व र व्ययको वार्षिक अनुमान ( बजेट ) प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले प्रदेश सभाको बैठकमा पेस गर्नु हुने कार्यसूची रहेको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आइतबार दिउँसो ३ बजे प्रदेश सरकारको आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेकोले ३० मिनेट अगावै बैठकमा औपचारिक पोसाकमा उपस्थित हुन प्रदेश सभा सदस्यहरूलाई अनुरोध गर्नुभएको छ । मन्त्री काफ्लेले प्रदेशको एकल अधिकारलाई जोड दिएर आगामी आवको बजेट आउने बताउनुभयो । उहाँले उत्पादनलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको बताउनुभयो । कृषि, रोजगारीसँगै भौतिक पूर्वाधारलाई बजेटको प्राथमिकतामा राखिने भएको छ ।
उता प्रदेश सरकारको आगामी आवको बजेटको आकार चालु आवको भन्दा बढेर आउने भएको छ । २०८०/०८१ मा कुल बजेट ६२ अर्ब ७९ करोड ९० लाख ७८ हजार बजेट ल्याइएकोमा चालु आव २०८१/०८२ का लागि बजेटको आकार बढाएर ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपियाँ बजेट ल्याइएको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले सरकारको नीति तथा कार्यक्रमको आधारमा आगामी आवको बजेट आउने भन्दै सरकारको स्रोत नबढ्दाको अवस्थामा पनि धेरै अपेक्षा र माग बढेका कारण चालु आर्थिक वर्षको बजेटको भन्दा आकार बढेर आउने बताउनुभयो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गङ्गादत्त नेपाल आगामी आवका लागि योजना माग गर्नेको चाप र दबाब धेरै भएकोले बजेटको आकार बढ्ने अवस्था आएको बताउनुहुन्छ ।
सङ्घमा तीन करोड रुपियाँभन्दा कमका नयाँ योजना नराख्ने भने पछि त्यसको दबाब प्रदेशमा परेको हो उहाँले भन्नुभयो, यही कारणले पनि बजेटको आकार बढ्ने छ । नेपालको संविधानले असार १ गते सातै प्रदेशका सरकारले आ–आफ्नो वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको छ ।