काठमाडौं । भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा ( माओवादी केन्द्र) ले सत्तापक्षसँग अस्थायी युद्धविराम गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन अवरोध खुल्न नसक्ने दाबी गरेका थिए । सदन अवरोधको सुरुवाती दिनमै प्रचण्डले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन अवरोधको निकास ननिस्किने ठोकुवा गरेका थिए । योबीचमा विपक्षी दलहरु माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र आम जनता पार्टी एक ठाउँमा थिए । यी चार दलका शीर्ष नेताहरूबीच लगातार छलफल भएको थियो ।
उनीहरु भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा, उच्चस्तरीय छानबिन समिति र प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफको अडानमा थिए । तर, प्रचण्डले सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एक्लाएक्लै भेटवार्ता गरेपछि भने विपक्षी दलहरुबीच फाटो आउन सुरु भएको थियो । संसद् भवनमै माओवादी केन्द्रका नेताहरु कांग्रेस नेताहरुसँग सघन छलफलमा जुटेका थिए । यसले रास्वपाका नेताहरुलाई झस्काएको थियो ।
माओवादीले साथ छोडेपनि एक्लै यो मुद्दा बढाउनेमा रास्वपाका नेताहरु हिजो ( शुक्रबार ) मात्रै निश्कर्षमा पुगेका हुन् । जतिबेला सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीच २ बुँदे सहमतिको हस्ताक्षर हुँदै थियो । रास्वपाका नेताहरुले माओवादीले धोका दिनसक्छ भन्ने कुरामा पहिल्यै नै एक किसिमको धारणा बनाईसकेका थिए । सदनको अवरोध खुलाउने विषयमा मुख्यतय कांग्रेस र माओवादी केन्द्रबीच बढि सम्वाद भएको थियो । यसले सरकारको नेतृत्व गरेको दल नेकपा ९एमाले० लाई समेत झस्काएको थियो ।
प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओली यस प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा पनि नदिने र छानबिन समिति पनि नबन्ने अडानमा थिए । उनले सार्वजनिक रुपमै गृहमन्त्री लेखकको बचाउ गरेका थिए । तर, सदनको अवरोध लम्बिरहे कांग्रेसको सार्वजनिक छवि ड्यामेज हुने र स्वयम गृहमन्त्री लेखकको राजनीतिक करियरमा समेत ठूलो धक्का लाग्ने निश्कर्षमा कांग्रेस नेताहरु पुगेपछि माओवादी केन्द्रसँग बढि छलफलमा बसेका हुन् ।
अहिलेलाई कांग्रेसले यो प्रकरणमा जित हाँसिल गरेको छ । माओवादीले भने कांग्रेससँग सम्बन्ध सुधारको लागि नै यत्रो मुद्दालाई हल्का रुपमा विसर्जन गरेको छ । कतिपय माओवादी नेताहरुले नै सदनको अवरोध खुलाउने २ बुँदे सहमतिमा माओवादीले उधारो सहमति गरेको आरोप लगाएका छन् । तर, प्रचण्ड भने त्यसलाई मान्न तयार छैनन् ।