काठमाडौं । बागलुङमा शुक्रबार भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ। दुईजनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल मृत्यु भएको हो।एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु.प्र.०१-००१-१७७५ नम्बरको जीप साँझ पौने ६ बजेतिर ढोरपाटन नगरपालिका- ५ बतासे डाँडामा दुर्घटना भएको हो। दुर्घटनामा ढोरपाटन-२ का नरबहादुर कार्की, भीमकुमारी बुढा, टिकाकुमारी कुँवर र मनकुमारी थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिए।
कार्की र बुढाको बुर्तिवाङ अस्पतालमा मृत्यु भएको हो। थापाको मणिपाल अस्पताल पोखरामा ज्यान गएको हो। उपचारका लागि मणिपाल अस्पताल पोखरा लैँजादै गर्दा बाटोमा कुँवरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनीहरूको शव अहिले बुर्तिवाङ जिल्ला अस्पतालमा राखिएको छ।
जीप दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये सात जनाको उपचार मणिपाल अस्पताल पोखरामा भइरहेको छ। दुई जनालाई थप उपचारका लागि रिफर गरिएको र दुई जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ। जीप सडकबाट ६० मिटर तल खसेको नायब उपरीक्षक पाण्डेले जानकारी दिए।