काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इरान र इसराइललाई ‘तनाव नबढाउन र शान्तिको बाटो रोज्न’ अपिल गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा एक सन्देश सार्वजनिक गर्दै दुई देशले शान्ति र कुटनीतिक मार्ग अवलम्बन गर्न आग्रह गरेका हुन् ।
‘इसराइलद्वारा इरानका आणविक केन्द्रहरूमा आक्रमण, जवाफमा इरानद्वारा तेल अवीवमा प्रक्षेपास्त्र प्रहार, अब धेरै भइसक्यो। अब यसलाई रोक्ने बेला आएको छ। शान्ति र कूटनीतिक मार्ग अवलम्बन गरिनुपर्छ,’ उनले भनेका छन् । यसैबीच युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि इजरायलका राष्ट्रपति इसाक हर्जोगसँग उक्त विषयमा कुरा गरेकी छन्।
उनले एक्समा लेखेकी छन्, ‘म दोहोर्याउँछु( इजरायललाई आफ्नो र आफ्ना जनताको रक्षा गर्ने अधिकार छ। यसका साथै क्षेत्रीय स्थिरता कायम राख्नु पनि धेरै महत्त्वपूर्ण छ।’ उर्सुला भोन डेर लेयनले दुवै पक्षलाई संयम अपनाउन र तनाव कम गर्न अपिल गरेकी छन्।इजरायलले शुक्रबार इरानका विभिन्न स्थानमा आक्रमण गरेको थियो, त्यसपछि इरानले बदलामा इजरायलमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। त्यसयता दुई देशबीच एकअर्काविरुद्ध आक्रमण जारी छ।