विराटनगर । नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) ले आफूले पार्टी नेता जनार्दन शर्मालाई पार्टी छाड्नु भनेर कहिल्यै नभनेको दाबी गरेका छन्। आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन्।अध्यक्ष दाहालले आफूले भन्दै नभनेको कुरा सञ्चार माध्यममा आएको बताए। ‘जनार्दन शर्मालाई कहिल्यै पार्टी छाड्नु भनेको छैन,’ उनले भने, ‘भन्दै नभनेको कुरा लेखिदिए।’
दाहालले अहिलेका केही ऐनहरू बनाउन संसद् अवरोध गर्दा अफ्ठ्यारो पर्ने भएकाले संसदको अवरोध हटाएको स्पष्ट पारे। उनले भने, ‘शिक्षा विधेयक, निवजामती विधेयकलगायतका केही अत्यावश्यक ऐन निर्माणमा संसद् अवरोध गरिरहँदा समस्या आउने भएकाले अवरोध खोलेको हौं।’
उनले सत्तासँग साटेको वा कांग्रेससँग सम्बन्ध सुमधुर बनाउन सहमति नगरेका जिकिर गरे। उनले अग्नी सापकोटासँग भिजिट भिसा प्रकरण साटेको भन्ने आरोपको पनि खण्डन गर्दै भने, ‘अग्नी सापकोटासँग भिजिट भिसा साटेको आरोप सरासर गलत छ।’ सरकारसँगको सहमतिले माओवादी थाङ्नामा सुतेको हो भन्ने प्रश्नमा उनले विगतमा पनि यसरी नै सम्झौता हुने गरेको कोही थाङ्नामा सुत्ने सुताउने भन्ने नभएको स्पष्ट पारे।